बारामा संसद पुर्नस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस बाराले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ । तर क्षेत्र नम्बर १ मा भने काँग्रेस भित्रको आन्तरिक किचलो र गुटबन्दीका कारण नेता कार्यकर्ताहरुले फरकफरक २ स्थानमा प्रर्दशन गरेका छन । पार्टीभित्र वरिष्ट नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला निकट नेता कार्यकर्ताहरुले क्षेत्र नम्बर १ को कोल्हबी बजार र स्थापन पक्षका नेता कार्यकर्ताहरुले निजगढमा प्रर्दशन गरेका हुन ।
कोल्हबीमा विरोध प्रर्दशनपछि भएको सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद उमाकान्त चौधरीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्तरकलहको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति र पदको दुरुपयोग गर्दै संसद विघटन गरेर निरङ्कुश तानाशाही व्यवस्था लागु गर्ने दुस्प्रयास गरेको आरोप लगाए । सभालाई सम्बोधन गर्दै पुर्वस्वास्थ्य मन्त्रीसमेत रहेका चौधरीले प्रधानमन्त्रीले एकलौटी रुपमा संविधानको अपहेलना र भ्रष्टाचारीहरुको संरक्षण गरेको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक रोगीको संज्ञा दिए । जनताको जनादेशलाई लत्याउदै ३ वर्ष नपुग्दै प्रतिनिधि सभाको हत्या गरेको भन्दै प्रधानमन्त्री ओलीलाई सरकारमा बस्ने कुनै नैतिक अधिकार नभएको पनि उनले बताए । सरकारले बैशाखमा निर्वाचन गराउने बताए पनि विश्वास गर्ने आधार नभएको नेता चौधरीले बताए ।
कार्यक्रममा निजगढका मेयर सुरेशकुमार खनालले संविधान निर्माणमा नेपाली काँग्रेसको नेतृत्व गरेको र संविधान जोगाउन पनि काँग्रेसले नै अग्रसरता लिनुपर्ने बताए । मेयर खनालले संविधान र लोकतन्त्रको संथागत गर्न नेपाली काँग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने कुरामा जोड दिए । कांग्रेस वर्तमान अवस्थामा जनमतको गणितीय आधारमा पछि परेपनि देशलाई संकट पर्दा जहिले पनि कांग्रेसले नै देशलाई संकटबाट बचाउने गरेको बताए ।
यसैगरी नेविसंघ नेपाल कमर्स क्याम्पस काठमाडौंका अध्यक्ष बिष्णु खड्काले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नबुझेका व्यक्ति नेपालको प्रधानमन्त्री जस्तो पदामा रहेकाले देशले अहिले संकटको अवस्था सामना गर्नुपरेको भन्दै राजालाई विस्थापित गरेको जस्तै प्रधानमन्त्री ओली र कम्युनिष्टहरुलाई विस्थापित गराउनुपर्ने बताए । काँग्रेस बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का क्षेत्रीय सभापति बद्री भट्टको सभापतित्वमा भएको सभामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि माला लामालगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य सनितिका पदाधिकारी, क्षेत्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । कोल्हबी बजार परिक्रमापछि प्रर्दशन कोण सभामा परिणत भएको थियो ।
त्यसैगरी, संसद विघटनको विरोधमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ क ले शनिबार निजगढमा समेत प्रदर्शन गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ क की सभापती रामकुमारी गोलेको सभापतित्वमा भएको सो कार्यक्रममा काँग्रेस बारा जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादब र विशिष्ठ अतिथिमा सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादव रहेका थिए ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सभापति रामकुमारी गोलेले निजगढमा भएको विरोध कार्यक्रममा निजगढकै काँग्रेसका सदस्य र कार्यकर्ताहरुको उपस्थिति न्युन भएकोमा आफु निरास भएको बताईन । काँग्रेसमा समेत गुटबन्दीको असर देखा परेको भन्दै उनले यस्तै अवस्था रहे काँग्रेसको पनि नेकपाको जस्तै हालत हुनसक्ने पनि बताईन ।
नेपाली काँग्रेस निजगढका सभापती महेशी कुँवरले भने निर्वाचन क्षेत्रभित्र भएको विरोध प्रदर्शनका कारण निजगढका भन्दा बहिरका काँग्रेस समर्थक धेरै देखिएको बताए ।
संसद विघटनविरुद्ध यसअघि नेपाली काँग्रेस पार्टीले पुष १३ गते देशव्यापी आह्वान गरेका विरोध सभाको क्रममा पनि बारा क्षेत्र नम्बर १ मा कोल्हबी र आर्दशकोतवालमा काँग्रेस कार्यकर्ताहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।