बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।
कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।
विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको थियो । विभागका अनुसार धेरैले अरू दिन पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र भर्न मिल्ने दिनमा पनि एकैपटक धेरै जनाले फाराम भर्ने भएकाले सिस्टममा समस्या देखिएको हो ।
यस्तै विभागले यातायात कार्यालयमा भिड नहोस् भनेर एउटा यातायात कार्यालयबाट हप्तामा एक सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । अहिले १९ वटा कार्यालयबाट दैनिक पाँच हजार जनाले अनलाइन आवेदन भर्न मिल्ने विभागले जनाएको छ ।
तर दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा कतिपय सेवाग्राहीले आवेदन दिन भने नसकिएको गुनासो गरेका छन् ।
अहिले सेवाग्राहीको धेरै चाप रहेको र यो चाप बिस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै आवेदन दिन सकिने विभागले जनाएको छ ।