जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न सकेमा दुर्घटना न्यूनिकरण हुने भन्दै ट्राफिक प्रहरीले सडकको छेउमा काल्पनिक ट्राफिक प्रहरी (ट्राफिक डमी) बनाएर राखेको हो ।
सडक शिक्षा दिनको लागि विभिन्न उपायहरु अबलम्बन गर्नका लागि डमी राखिएको ट्राफिक प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्गस्थित निजगढको सहीद चोकमा आज ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डमी र होडिङ्गबोर्ड राखेको हो । सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराएर दुर्घटनाबाट जोगाउन प्रहरीले शहिद चोकको प्रतीक्षालयमा डमी र जनचेतनामुलक होडिङ्ग बोर्ड राखेको हो ।
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए । उनले डमीले ट्राफिक नियम उल्लघन गरेर सवारी चलाउनेहरुलाई सचेत तुल्याउन मद्दत गर्ने र दुर्घटनामा कमी आउने र ट्राफिक नियम उल्लघन गरेर सवारी चलाउनेमाथि ५ सयदेखि १५ सय रुपैयासम्म जरिवाना गरिने पनि जानकारी दिए ।
अहिले डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा १० हजार जरिवाना हुने वोर्ड राखिएको छ । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने थापाको भनाइ रहेको छ ।
सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको बुझाइ रहेको छ ।