लायन्स क्लव निजगढ सिटीले निजगढमा आयोजना गरेको २ दिने प्रजनन् स्वास्थ्य शिवीरमा ३ सय ६७ ले गरे स्वास्थ्य परीक्षण गराएका छन ।
हिजोबाट सुरु भएको शिवीरमा आज २ सय ६ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन । हिजो पहिलो दिन १ सय ६१ जना महिलको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गराएकाहरु मध्ये ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको लायन्स क्लब अफ निजगढका पास्ट अध्यक्ष एवं कार्यक्रमका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए ।
बिरामी महिलाहरुको काठमाण्डौंमा लगेर शल्यक्रिया गरिने जनाइएको छ । शिवीर समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले शल्यक्रिया गर्नु पर्ने देखिएका महिलाहरुको उपचारको क्रममा काठमाण्डौं जाने आउने खर्च नगरपालिकाकाले सहयोग गर्ने बताइन ।
लायन्स् क्लब अफ निजगढ सिटीको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र निजगढ नगरपालिकाको सहकार्यमा निजगढ नगरपालिका वडा नम्बर– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क शिवीर संचालन भएको हो ।
शिवीरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघरको मुखको मयल परीक्षण तथा परामर्श, आङ्ग खस्ने समस्याको प्रतिरोधात्मक उपचार परामर्श र अप्रेशन, क्रायोथेरापी सेवा, मधुमेह तथा रक्तचाँप परीक्षण र पाठेघरको अप्रेशनलगायत स्त्री सम्बन्धि अन्य रोगको पनि निशुल्क परीक्षण गरिएको थियो ।