निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का रद्द गरेको छ ।
तीन पटक सम्म बसेको कार्यपालिकाको बैठकले कुनै निर्णय गर्न नसकेकै कारण ठेक्का रद्द गरिएको नगरपालिकाले जनाएको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले नगरपालिकाले जारी गरेको राजपत्रको दफा १५ को उपदफा १५.३ को अनुसार नगर कार्यपालिकाको मत विभाजन भएको अवस्थामा नगर कार्यपालिकाको प्रमुखले गरेको निर्णय अन्तिम हुने व्यवस्था रहेको र यहीँ अधिकार प्रयोग गरि ठेक्का रद्द गरिएको बताए ।
उनले भने, “तीन पटक सम्म सहमतिको प्रयास गरौं तर यहाँ मत बाझिए त्यस कारण मैले ठेक्का रद्द गर्ने निर्णय गरे । अब हामी इ बिडिङबाट पुर्ण ठेक्का प्रक्रिया अगाडि लैजाने तयारीमा छौं ।”
नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया र धन्सार खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि गत कार्तिक १६ गते खोलेको बोलपत्रमा हिमानीसहित ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।
न्युनतम १३ करोड ३२ हजार ९१ रुपैयामा सकार गर्न भएको टेण्डरमा हिमानीले १३ करोड ५१ लाख, न्यु पाथीभरा सप्लायर्सले १३ करोड ३१ लाख ११ हजार १११, बिकोइ विल्डर्सले १३ करोड, २५ लाख, २५ हजार ५५१ तथा सुदीपा ट्रडिङ्गले १३ करोड १ हजार १ सय र मेचीमहाकाली सप्लायर्सले १३ करोड ५५० रुपैयामा बोलपत्र भरेका थिए ।