काठ तस्कर र वन रक्षकबीच बाराको भोडाह नजिकै पसाहा खोला ज‌गलमा बुधबार मध्य राति दाेहाेरो गोली हानाहान भएको छ ।

तस्करहरुले प्रस्तावित अन्तर्राष्ट्रिय विमान स्थलको राष्ट्रिय वन क्षेत्रबाट चोरी तस्करी गरी काँचो सालका काठ लैजाँदै गरेको अवस्थामा सुरक्षाकर्मीसंग जम्काभेट हुदा दुबै पक्षाबीच राति १ः३० बजे गोली हानाहान परेको हो । सोही क्रममा साईकलमा लैजाँदै गरेको १० थान सालको गोलाईसहित तस्कर समुहका एकजनालाई वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नम्बर– ४ का ४८ वर्षिय स्माईल मियाँ रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमतले जानकारी दिए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं १७ पसाहखोला हुँदै ठुलो संख्यामा काठ तस्करी हुने गरेको सुचनाका आधारमा परिचालित वन गस्ति टोलीसंग तस्कहरुको जम्काभेट भएको हो । सोही क्रममा वन गस्ती टोलीलाई लक्षित गरेर तस्कर समूहले गोली चलाएपछि वन गस्ति टोलीले जवाफी फायरिङ गरेको थियो । तस्कर समुहबाट २ र वन गस्ति टोलीबाट १ राउण्ड फायर भएको अहमदले बताए ।

डिभिजन वन कार्यालय बारा मातहतको मधुवन सव डिभिजन वन कार्यालयको जैतापुर, हलखोरिया साझेदारी वनको डकाह पोष्टबाट खटिएको गस्ति टोलीले गोली हानाहानमा १० थान सालको गोलिया, १० थान साईकल र एकजना व्यक्तिलाई नियन्त्रण्णमा लिएको उनले बताए ।

सुरक्षाकर्मीले फायर खोलेपछि वन तस्करहरु काठ छाडेर भागेका थिए । गत चैत्र महिनायता लकडाउनको अवधिमामात्रै वन र वन्यजन्तु तस्करीमा संग्लन ४० जनालाई डिभिजन वन कार्यालय बाराले प्रकाउ गरी कार्वाही चलाएको जनाएको छ । वनको २२ र वन्यजन्तु तस्करीको १ गरी यो अवधिमा २३ वटा मुद्दा दर्ता भएका छन् ।

थप चार जनामाथि अनुसन्धान जारी रहेको वन कार्यालय प्रमुख अहमदले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले लकडाउन अवधिमा मात्रै ३० लाख बराबरको काठ बरामद गरेको कार्यालय प्रमुख अहमदले जानकारी दिए ।

कार्यालय गत चैत ११ गतेदेखि बिहिबारसम्म निजगढ, कोल्हवी, ककडी, मधुवन र टाँगियावस्तिलगाएतका स्थानबाट १ हजार ५९ कयुफिट काठ बरामद गरेको हो । बरामद काठको मुल्य करिव ३० लाख बराबरको हुने प्रमुख अहमदले जानकारी दिनुभयो । बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी वन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय