निषेधित अवधिमा खोला बगरमा प्रवेश गरी संकलन गरेको करिव १ करोड रुपैया मुल्य बराबरको अवैध ढुङ्गा निजगढ नगरपालिकाले जफत गरेको छ ।
नगरपालिकाले बकैया र धन्सार खोलाबाट दुई दिनयता सो मुल्य बराबरको अवैध ढुङ्गा जफत गरेको हो । नगरपालिकाले मंगलबारबाट शुरु गरेको अवैध ढुङ्गा जफत गर्ने अभियान बुधबार पनि जारी राखेको थियो ।
कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले बुधबार निजगढ नगरपालिका वडा नम्बर ४ बकैया खोला किनाराबाट २ हजार ६ सय ३० दशमलव ७५ घनमिटर ढुङ्गा जफत गरेका थिए । यसअघि मंगलबार धन्सार र बकैया खोलाबाट संकलन गरिएको १० हजार १ सय ७६ दशमलव ७० घनमिटर ढुङ्गा जफत गरेको थियो । ढुङ्गा जफत गर्ने क्रममा नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछाने आफै खोला किनारामा गएका थिए ।
दुई दिनयता जफत भएको ढुङ्गा करिव ९ सय ५५ टिपर बराबर रहेको सोको प्रचलित बजार मुल्य न्युनतम करिव १ करोड रुपैया हुने नगरपालिकका सवइन्जिनियर नविन खनालले जानकारी दिए ।
प्राविधिक कर्मचारीसहितको टोलीले घाटगद्दि स्थानमानै पुगेर नापचाँच र चिन्ह लगाएर सम्बन्धित वडाका वडा अध्यक्षको रोहबरमा मुचुल्का बनाइ ढुङ्गा जफत गरिएको हो ।
नगरप्रमुख खनालले विभिन्न संचार माध्यममा खोला बगरबाट अवैधरुपमा उत्खनन गरेर घाटगद्दि गरिएको भन्ने समाचार प्रशारण भएपछि नगरकार्यपालिका बैठकको निर्णयअनुसार ढुङ्गा जफत गरिएको बताए ।
प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौँसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ । तर कानुन उल्लघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट उक्त अवधिमा ठुलो परिमाणको ढुङ्गा उत्खनन भएको थियो ।
स्थानीय केही टेक्टरधनीले वीरगंज, सिमरा र निजगढ बजार क्षेत्रका व्यापारीमार्फत बिक्री गर्न अग्रिम भुक्तानी लिएर खोला बगरबाट निकालेर ढुङ्गा स्टक गर्दै आएका हुन ।