
मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटै परिवारका तीनजनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । पत्नी र छोराको सुतेकै अवस्थामा धारिलो हतियार (दाउ) प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।
शुक्रबार साँझ करिब ५ बजे अधिकारीका भाइ सुनीलले खबर गरेपछि महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपको शव घरको कौसीको ढोकामा घोप्टिएको अवस्थामा, उनकी पत्नी ३४ वर्षीया सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र १५ वर्षीय छोरा सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको थियो ।
‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको छ, भित्तामा समेत रगतको छिट्टा देखिएको छ,’ महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको छ । आमा–छोराको शवमा राम नाम उल्लेख पहेँलो कपडाले छोपेको समेत पाइएको छ ।’ प्रहरीले शनिबार बिहान घटनास्थलसँगैको धानखेतबाट २ वटा सेल्फस नामक विषादीको बट्टा बरामद गरेको छ ।
घटनास्थलको प्रकृति अनुसन्धान गर्दा सुरुमा पत्नीलाई सुतेकै अवस्थामा दाउले टाउकोमा प्रहार गरी हत्या गरेपछि छोराको पनि टाउकोमा प्रहार गरेको र छोराले प्रतिकार समेत गर्न खोजेजस्तो देखिएको प्रहरीले जनाएको छ । एसएसपी थापाका अनुसार सुशान्तको शव नजिकै दाउ फेला परेको छ ।
प्रहरीका अनुसार आमा–छोरा दुवै जनाको शव कुहिएर किरा परेको अवस्थामा भेटिएको छ भने, घरको पहिलो तलामा कुकुर र माथिल्लो तलामा सुदिपको शव भेटिएको थियो । कुकुर र सुदिपको मृत शरीर भने नकुहिएको प्रहरीले बताएको छ । ‘आमा–छोराको शव केही दिन पहिलेको र कुकुर तथा सुदिपको शव आलो नै देखिन्छ,’ प्रहरीको अनुसन्धान अधिकृतले भने, ‘त्यसैले कम्तीमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्छ । घरको माथिल्लो तलामा मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक नभएको तर उनले वान्ता गरेको देखिने अनुसन्धानमा खटिएका प्रहरीले बताए ।
प्रहरीलाई सुदीपको आफन्तले बताएअनुसार केही महिना अघिसम्म एक औषधि कम्पनीमा काम गरेका सुदिपले पत्नीसँगै घरकै भूइँतलाको सटरमा किराना पसल संचालन गर्दै थिए । ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएर पसल संचालन गरेको पाइएको छ । घर बैंकमा धितोको प्रक्रिया रहेको पाइएको प्रहरीले जनाएको छ । बैंक धितोबारे अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको । रोजगार र आर्थिक पक्षको विषयमा घरमा केही बेमेल भएको हुनसक्ने वृत्त प्रमुख डीएसपी कँडेल बताउँछन् ।
मृतक तीनैजनाको शनिबार पोष्टमार्टम भइसकेको र पोष्टमार्टमको रिपार्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य सार्वजनिक गर्ने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी थापाले बताए ।