नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरि नै हुने गरेका छन् । त्यसो त लकडाउनको अवधिमा पनि आत्महत्याका घटनामा कमी आएको छैन ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो विषम परिस्थितिमा बारा जिल्लामा भने आत्महत्याको घटना बढ्दै गएको छ ।
गत चैत्र ११ देखि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको विवरण अनुसार जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धासम्म रहेका छन् । विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको विवरणमा उल्लेख छ । झुन्डिएर आत्महत्या गर्नेमा १० बालिक १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै २ महिला र १ बालकले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
आत्महत्याको एउटै कारण सबैै व्यक्तिमा लागु हुन्छ भन्ने नुहने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
उनका अनुसार उदासिनता, रक्सी र अन्य लागु औषधिको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्न गरेको देखिएको बताए । अहिले लकडाउनको समयमा वैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या बढिरहेको निष्कर्षमा पुगेका बेला समाज बन्द, आर्थिक संकट जस्ता कारणले गर्दा मानिसहरुले आत्महत्याको बाटो रोजेको उनको भनाई छ ।
संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।
लकडाउनमा अपराधजन्य गतिविधि बढ्दो
लकडाउनका बेलामा पनि जिल्लामा अपराधजन्य गतिविधिमा भने कमी आएको छैन । प्रहरीले २२५ के.जि ६५० ग्राम गाँजा, ७१ पिस डाईजेपाम, ७१ पिस नुर्फिन, ७१ पिस फेनार्गन, ७७ पिस नाईट्रोभेट र २१७ पिस Wincirex लागु औषध बरामत भएको छ र यस समयावधिमा लागु औषध सम्बन्धी १९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त क्रियाकलापमा संलग्न ३७ जनालाई पक्राउ गरिएकोे कार्यालयको जानकारी दिएको छ ।