निजगढ नगरपालिकामा मंगलबार बसेको सर्वपक्षीय बैठकले नगरभित्रका पसल र अन्य व्यवसाय बिहान ८ बजेदेखि दिउसो २ र होटल तथा लज भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।
निजगढका व्यवसायीहरुले पसल तथा होटल पुर्णरुपमा संचालन गर्न पाउनुपर्ने माग राखेर नगरप्रमुख सुरेश खनाललाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले व्यवसाय संचालन सम्बन्धि यसअघि बनाइएको कार्यविधि शंसोधनसहित अर्को समयसिमा निर्धारण गरेको हो ।
निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, होटल संघका प्रभात सिग्देल र पुस्तक तथा स्टेशनरी संघका सागर थोकरले हस्ताक्षर गरेर सोमबार बुझाएको ज्ञापनपत्रमा कोरोना भाइरस महामारी संक्रमणको नाममा जारी लकडाउनका कारण व्यवसाय धरासायी बनेको भन्दै बुधबारसम्ममा आफना माग पुरा नभए जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लघंन गर्दौ बिहिबारबाट नगरका सबै पसल तथा व्यवसाय पुर्णरुपमा संचालनमा ल्याउने चेतावनी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराले पनि जारी निषेधाज्ञा खुकुलो पार्दै मंगलबारबाट बिहान १० देखि ४ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको थियो । स्थानीय प्रशासनले यसअघि बिहान ६ देखि १० बजेसम्ममात्र पसल खोल्ने समय तोकेको थियो ।
नगरप्रमुख खनालको अध्यक्षतामा बसेको बैठकले व्यवसाय संचालन क्रममा नेपाल सरकार र स्थानीय प्रशासनले निर्धारण गरेकोे सुरक्षा मापदण्ड अनिवार्य रुपमा पुरा गरेको हुनुपर्ने निर्णय पनि गरेको छ ।
कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सुरक्षा उपाय अबलम्बन गरे नगरेको अनुगमनपछिमात्रै व्यवसाय संचालन गर्ने अनुमति दिइने निर्णय भएको नगरपालिका सुचना अधिकृत रविन घिमिरेले बताए ।
त्यसको लागि नगरपालिकाका एक जना अधिकृत स्तरका कर्मचारी संयोजक र संचारकर्मी गोकुल घोरसाइने, निजगढ उद्योग वाणिज्य संघका सदस्य दिपेन्द्र श्रेष्ठ, होटल व्यवसायी रामकृष्ण घिमिरे, कोरोना भाइरस विपद व्यवस्थापन, न्युनीकरण तथा समन्वय समितिका सदस्य माला लामा, सावित्री भारती, दुर्गा कोइराला र निजगढस्थित सुरक्षा निकायका एक जना प्रतिनिधि सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको छ ।
अनुगमनकाे क्रममा पहिलो पटककोलागि सम्झाइ बुझाइ गरेर छोडिने र दोस्रोपटकबाट जरिवानासमेत गरिने सुचना अधिकृत घिमिरेल जानकारी दिए।
बैठकमा नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने, पर्यटन व्यवसायी तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, सघका उपाध्यक्ष निर्मल भण्डारी, अगुवा व्यवसायी ज्ञानेन्द्र चौलागाईलगायतको सहभागिता रहेको थियो ।