भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यसअघि अमेरिकामा जुलाई १७ मा ७७ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो । भारतले आइतबार सो आँकडा पार गरेको हो । संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध खुकुलो बनाए लगत्तै भारतमा संक्रमण बढदो क्रममा देखिएको छ ।
भारतमा ग्रामिण तहसम्म संक्रमण फैलिएको अनुमान गरिएको छ । चिकित्सकहरूले सीमित परीक्षण र थाहा नभएका संक्रमण अझै मुख्य चुनौतीको रुपमा रहेका छन् ।
भारतमा हालसम्म ३६ लाख १९ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ६४ हजार ६ सय १७ पुगेको छ ।
विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ५३ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोनावाट ८ लाख ५० हजार भन्दा धेरैको ज्यान गएको छ ।