
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।
यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र ९ जनाको मृत्यु भएको छ ।
पर्सामा थप दुई जनाको मृत्यु
समुदाय स्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज-११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।
यस्तै बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।
उनको बिहान ८ बजे मृत्यु भएको थियो । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा बुधबार राति १० बजेपछि स्वास्थ्य अवस्था विगि्रएपछि भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको र साँझ कोभिड संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।
काठमाडौंमा एक जनाको मृत्यु
यस्तै कोरोना संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको अस्पतालले जनाएको छ ।
थप ३६० जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४/४ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३/३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २/२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १/१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ छ हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।