पर्सामा सेना, थुनुवा र पत्रकारसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
तीमध्ये बाराका २ जना तथा सर्लाही र सुर्खेतका १÷१ जना छन् । मेसु उपाध्यायका जानकारी अनुसार संक्रमित हुनेहरुमा १४ वर्ष देखि ५६ वर्षका २८ जना पुरूष र ६ जना महिला छन् ।
वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका ३ जना सेना ,वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय वीर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा तथा बयोधा अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना चिकित्सकमा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।
यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ वर्षदेखि ५६ वर्षका १५ जना, स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ देखि ४९ बर्षका ५ जना, पर्सा जिल्लाकै पोखरिया नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र २ जना महिला , पर्साकै सेढवाका २२ बर्षका १ जना युवकमा पनि सोमबार राती संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।
बारा जिल्लाको कलैयाका २९ बर्षका १ जना पुरुष , बाराकै फेटा गाँयपालिका ४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्लाको मलगंवा ८ का ४८ वर्षका १ जना पुरुषमा पनि संक्रण भेटिएको हो ।
लक्षण नभएका संक्रमितलाई घरकै होम आइसोलनमा राखिएको छ ।लक्षण देखिएका संक्रमितलाई भने नारायणी अस्पताल मातहत सञ्चालनमा रहेका वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड र गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर राखिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।
यसअघि आइतवार पनि पर्सामा ७३ जनामा संक्रमण पुष्टि भएको थियो । पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको डाक्टर सिंहले जानकारी दिए ।