श्याम गुप्ता, बिरगंज एक घर एक परिक्षण अभियान अन्तरर्गत बिरगंज महानगरपालिकाले क्षेत्राधिकारका समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलन शुरु गरेको छ ।
बिरगंज महानगरपालिकाको वडा नं.९ बाट स्वाव संकलन अभियान शुरु गरिएको हो । पहिलाे दिन दुई सय ९ जनाको स्वाब संकलन गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार बिरगंज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।
बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले महानगरका नागरिकको जीवन रक्षाका लागि पचास हजार व्यक्तीको स्वाव संकलन गरी पि.सि.आर परिक्षण महानगरले गर्ने बताए ।
मेयर सरावगीले परिक्षणका लागि नारायणी अस्पताललाई पि.सी.आर मिशिन र सबै आवश्यक सामाग्री उपलब्ध गराएको जानकारी दिएका छन् । बिरगंज महानगर भित्र करिब ४० हजार घरधुरी रहेको छ ।
यसैबिच , कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ । गहवामाई मन्दिर अगाडी दुई सय दश जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवंम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ४८ जनाको स्वाब संकलन गरिएको छ ।