२ दिन देखिको अविरल वर्षाका कारण बकैया नदीमा आएको बाढीले तामागढी–रतनपुर सडकको करिव २ सय मिटर क्षेत्र बगाएको छ ।
बाढीले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित नागमणी सामुदायिक वन समुहको वन क्षेत्रमा पर्ने सडक बगाएको छ । नदीको मुल धार सडकमा ठोक्किएपछि कटानमा परेर सडक बगरमा परिणत भएको हो । सडक बगेपछि उक्त सडक भएर आवतजावत गर्ने यात्रुहरु नेपाली सेनाले निर्माण गरेको द्रुत मार्गको प्रयोग गर्न बाध्य भएका छन ।
त्यसैगरी लाल खोलमा आएको बाढी पसेर लाल बसपार्क नजिकबाट हालै कालोपत्रे गरिएको सोही सडकको करिव ५ सय मिटर क्षेत्र हिलाम्य भएको छ । लाल खोलाको बाढीले हाल जंगलतर्फ कटान तिव्र पारेकाले उक्त क्षेत्रको सडकमा पनि जोखिम बढेको छ ।
त्यसैगरी अवविरल बर्षाका कारण साविक रतनपुर गाविस हाल निजगढ नगरपालिका वडा नम्बर १२ को गडवान, बुङ्गजोर, चिसापानी, खयर खोला, वडा नम्बर १३ को भालु र शक्ति खोला, वडा नम्बर ११ मा पसाहा र १० को भालु खोलामा आएको बाढीले स्थानीय किसानको ८ बिगाहा भन्दा बढी क्षेत्रमा लगाइएको धान र मकै बाली नष्ट पारेको नगरपालिकाका सुचना अधिकृत नविन खनालले बताए ।
त्यसैगरी बकैया खोलाले निजगढस्थित वडा नम्बर ४ को मोहोरी, वडानम्बर ९ को आर्यघाटको तटबन्दमा क्षेति गरेको छ । वडा नम्बर ४ मा कछडिया टोल नजिक नगरपालिकाले हालै बनाएको च्यानलाइज ड्याम पनि बाढीले आंशिक क्षेत्रति गरेको र भमरा खोलाको बाढीले वडा नम्बर ५, ६, ७ र ९ नम्बरको विभिन्न स्थानमा जमिन कटान गरेको बताईएको छ ।
उता साविक भरतगंज सिगौलमा बगरे र धन्सार खोलाको बाढीले कटान र डुवानको समस्या उत्पन्न गरेको छ ।
निजगढ नगरपालिका वडा नं २ मा स्थानिय गोकर्ण थापा, सुरेश राई, नेप्टे राई, टुम्ले राई, भानु राई र केनाम राइको घर डुबानमा परेको छ । घर भित्र पानि पसेपछि भाँडाकुडा लगायतका सरसामान तथा कुखुरा समेत बगाएको छ । सिगौलको धन्सार र बगरे खोला बाढीले पुरानो तटबन्ध भत्काएपछि वस्तिमा बाढी पस्ने खतरा बढेको सुचना अधिकारि खनालले बताए ।
यसैबीच जल तथा मौसम बिज्ञान बिभागले बारा, पर्सा, रौतहट, मकवानपुर लगायतका स्थानमा भारी वर्षा भईरहेको र थप वर्षा हुने भन्दै लालबकैया, धन्सार, दुधौरा, बगरखोला, धामि खोला लगायत अन्य साना नदिहरुमा आकस्मिक बाढि आउन सक्ने चेतावनि दिएको छ ।
उसले डुबान भईरहने र होचा स्थानहरुमा उच्च सर्तकता अपनाउन पनि आग्रह समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेकाले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको जानकारी दिएको छ ।
मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।