सांसदहरूले कोभिड–१९ महामारीबाट जोगिन लगाइएको लकडाउनका बेला गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा ज्यान गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै सांसदहरूले गर्भवतीहरूले आधारभूत स्वास्थ्य सेवा समेत नपाएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले लकडाउन अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको बताइन् ।
सांसद भट्टराईले प्रजनन् स्वास्थ्य सेवालाई संविधानले मानव अधिकारको रुपमा स्वीकारे पनि लकडाउनका बेला महिलाहरूले आधारभूत स्वास्थ्य उपचार समेत नपाएको बताइन् ।
‘६० हजार भन्दा बढी गर्भवतीहरू स्वास्थ्य सेवाबाट बञ्चित छन्’, सांसद भट्टराईले भनिन्, ‘असुरक्षित गर्भपतनले गर्दा अकालमा ज्यान गइरहेको छ ।’
बैठकमा नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले लकडाउनले गर्दा महिला अस्पतालमा सुत्केरी हुने महिलाको संख्या १० प्रतिशत भन्दा कम भएको उल्लेख गरिन् । उनले अस्पताल जान नपाएर गर्भवतीहरूले क्वारेन्टिनमै बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् ।