
कोरोना भाइरस संक्रमण फैलिन नदिन निजगढ नगरपालिकाले नगरभित्रका सहायक मार्ग बन्द गर्ने निर्णय गरेको छ।
छिमेकी जिल्ला रौतहट प्रवेश गर्न तथा जिल्लाका दक्षिण भेगका मानिसले नगरको सहायक मार्ग प्रयोग गर्न थालेपछि बाटो बन्द गर्नुपरेको र नगरभित्रका रतनपुर, सिंगौलसहित वडा नं. ५ र ९ लगायत वडाका सडक प्रयोग गरेर विभिन्न बहानामा नगर प्रवेश गर्ने क्रमसंगै संक्रमणको त्राससमेत बढेको नगर प्रमुख खनालले निजगढ न्युजलाई जानकारी दिए ।
उनले नगरका सबै वडा कार्यालयमा परिपत्र गरेर सहायक मार्गहरुबाट दक्षिणी भेगका मानिसहरुको अवागमन बन्द गर्न जानकारी गराएको पनि बताए ।
यसैबीच निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतमले हिजो एक सार्वजनिक सुचना गर्दै आफनो वडाभित्रका सबै मार्ग बन्द भएको जानकारी गराएका थिए । नगरपालिकको निर्देशन बमोजिम मार्ग बन्द गरिएको उनको भनाइ रहेको छ ।

टोलमा बाटो बन्द गर्ने र प्रवेश निषेध गर्नेलाई कारवाही
यता, गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।”
उनले विज्ञप्तिमा मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने चेतावनी दिएका छन् ।
