निजगढ, नेपाली काँग्रेस शेरबहादर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर अधिवेशन शुक्रवार हुने भएको छ ।
नगर सभापती पदमा सहमति हुन नसक्दा सो समूहको केन्द्रीय कार्यतालिका अनुसार गत असोज २० गतेको लागि तय गरिएको नगर अधिवेशन अनिश्चित बन्दैआएको थियो ।
निजगढ नगर अधिवेशन सम्पन्न गर्न देउवा समूहबाट संयोजक तोकिनुभएका अमिर लामाले भोलि शुक्रवार निजगढ ९ स्थित होटल राजमार्गमा बिहान ११ बजेबाट अधिवेशन सुरु हुने बताउनुभयो । सभापति पदमा सहमति निर्माण गर्न आकांक्षीहरुबीच छलफल जारी रहेको तर अहिलेसम्म कुनै सहमति भइनसकेको संयोजक लामाले जानकारी दिनुभयो ।
‘अन्तिम समयसम्म पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने छ, उहाँले भन्नुभयो, सहमति हुन नसके अधिवेशनको बन्द सत्रबाटै नयाँ नेतृत्व चयन गरिने छ ।’
सभापति पदमा निजगढ नगर सभापतिको लागि निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, निजगढ ९ का खडकराज मैनाली, निजगढ नगरपालिका वडा नम्बर ५ की सीता अधिकारी र निजगढ ९ कै प्रदीपकुमार उप्रेतीले दाबी गदैआएका छन ।
वडा अध्यक्ष लोप्चन र उप्रेतीले कांग्रेस संस्थापन पक्षको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि पदबाट राजिनामा दिएर नगर सभापतीमा दाबी गरेका हुन भने मैनाली र अधिकारी सभापति गगन थापा समूहले आयोजना गरेको विशेष महाअधिवेशनको विपक्षमा थिए । लोप्चन र उप्रेती २ साताअघि भएको संस्थापन पक्षको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध रुपमा चुनिएका थिए ।
सभापति पदमा सहमतिको लागि चारै जना आकांक्षीबीच यसअघि पटक पटक भएको छलफल निष्कर्षविहिन बनेपछि निजगढमा देउवा समूहको नगर समिति चयन प्रक्रिया जटिल बन्दैआएको छ ।



