निजगढ,
निजगढ नगरपालिका वडा नम्बर १ सिंगैलमा सुकुम्बासीलाई वितरण गर्न वडा कार्यालयले तयार पारेको जग्गाको निस्सा नेपाली काँग्रेस वडा नम्बर १ का सभापती बुद्ध लामाले वितरण गरेपछि स्थानीयले विरोध जनाएका छन ।
काँग्रेस पार्टीका वडा सभापती लामाले वडा कार्यालयमा बसेर आज बिहान सुकुम्बासीहरुलाई अनाधिकृत रुपमा जग्गाको निस्सा वितरण गरेको भन्दै अन्य दलका कार्यकर्ता र स्थानीयले विरोध गरेका हुन ।
सभापती लामाले अधिकार क्षेत्र मिचेर वडा अध्यक्ष मंगले लोप्चनसंगको मिलिमतोमा वडा कार्यालयबाट अनाधिकृत रुपमा सुकुम्बासीलाई जमिनको निस्सा वितरण गरिरहेको खबर बाहिरिएपछि आफूहरु वडा कार्यालयमै पुगेर विरोध जनाएको एमाले वडा अध्यक्ष कुमार खडकाले जानकारी दिनुभयो ।
सभापती लामाले वडा अध्यक्ष लोप्चनको कुर्सीमा बसेर आफ्नै हातबाट निस्सा वितरण गरिहेको पाइएपछि स्थानीयले विरोध गरेर लामालाई बाहिर निकालेको एमाले अध्यक्ष खडकाले बताउनुभयो ।
सभापती लामाले वडाका अन्य जनप्रनिधि र कर्मचारी समेत नराखी निस्सा वितरण गरेका हुन ।
सभापती लामाले गैह्कानुनी रुपमा राजनीतिक स्वार्थ पूर्तिको लागि निस्सा वितरण गरेको एमाले अध्यक्ष खडकाको भनाइ छ ।
स्थानीयको विरोधपछि वडा अध्यक्ष लोप्चन र अन्य जनप्रनिधिहरु कार्यालयमा आएर आफैले निस्सा वितरण सुरु गरेका थिए । वडा अध्यक्ष लोप्चनले भने आफ्नो व्यस्तताका कारण सभापती लामालाई आफूले नै निस्सा वितरण गर्न अनुमति दिएको बताउनुभएको छ ।
वडा कार्यालयले सुकुम्बासीहरुको धनी पुर्जा बनाउने क्रममा निस्सा वितरण सुरु गरेको छ । कार्यालयबाट आजमात्रै ८०÷९० जना सुकुम्बासीलाई निस्सा वितरण गरेको थियो ।



