रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीमा बाराको निजगढ नगरपालिकाका तीन जना बेपत्ता भएका छन्।
बाढीपछि निजगढ नगरपालिका–८ र ९ का दुई स्थानीय तथा निजगढमा बसोबास गर्दै आएका एक प्रहरी अधिकारी सम्पर्कविहीन भएका हुन्।
बेपत्ता हुनेमा मकवानपुरको थाहा गाउँपालिका–४ स्थायी घर भई निजगढमा बसोबास गर्दै आएका प्रहरी नायब निरीक्षक (प्रनानि) मदन स्याङ्बो लामा छन्। उनी जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए। बाढीपछि लामाको अवस्था अज्ञात रहेको छ।
त्यस्तै, निजगढ नगरपालिका–८ का दिनेश परियार र निजगढ–९, शान्ति टोलका राजु विष्ट पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनीहरूका परिवार तथा आफन्तले खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ। नदीको बहाव अत्यधिक रहेकाले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बेपत्ता भएका तीनै जनाको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।
सम्बन्धित निकायले बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउँदै उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी गराउनुपर्ने स्थानीयवासीको माग छ।



