निजगढ,      निजगढ नगरपालिका– ६  स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आजबाट एकमहिने ‘श्रीमद् वितक चर्चा एवं श्रीकृष्ण कथा’ कार्यक्रम सुरु भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर संचालक समितिको आयोजनामा हुने सो वितक चर्चाको धार्मिक गुरु नविनकृष्ण शास्त्री ढुङेल उपाध्याय, बारा क्षेत्र नम्बर १ ‘१’ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी तथा निजगढका नगर प्रमुख सुरथ पुरीले पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्धाटन गरेका थिए ।

मन्दिर संचालक समितका अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले धर्मले मानिसलाई सतमार्गमा लगाउने र यसबाट असल चरित्रको विकास हुने बताउनुभएको थियो । त्यसैगरी नगर प्रमुख पुरीले कुनै पनि धर्म मानवताको रक्षा निम्ति समर्पित हुनुपर्ने बताउनुभयो ।
धर्मको मुल ध्येय सामाजिक सद्भाव, एकता र भाइचारको विकास गर्नेतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिदै उहाँले यसैबाट विश्व शान्ति र मानव जगतको कल्याण हुने उल्लेख गर्नुभयो ।

त्यस्तै स्थानीय समाजसेवी केशव राउतले धर्म ग्रन्थहरुको अध्ययन र श्रवण गरेर मात्रै मानिसले ज्ञान र विवेक प्राप्त गर्न सक्ने भएकोले यस्ता अनुष्ठानहरुले मानव जीवनमा ठूलो महत्व राख्ने उल्लेख गर्नुभयो । कार्यक्रमको संचालन मन्दिर संचालन समितिका सचिव प्रकास सापकोटाले गर्नुभएको थियो ।

अनुष्ठान अन्तर्गत गुरु नविनकृष्ण शास्त्रीले दैनिक बिहान ११ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सङ्गीतमय कथा वाचन गर्ने र रात्री कालिन समयमा विविध धार्मिक तथा सास्कृतिक कार्यक्रम हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा गत माघ २१ देखि २७ गतेसम्म भएको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८१ तथा श्रीमततारम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चसमेत सार्वजनिक गरिएको थियो ।

महामहोत्सव आयोजक आर्थिक समितिका संयोजक रोशन तिमल्सिनाले प्रस्तुत गरेको विवरण अनुसार सो क्रममा मन्दिरले ६४ लाख ८४ हजार ४५५ रुपैया वचत भएको छ । तिमल्सिनाले विभिन्न शीर्षकबाट १ करोड ३८ लाख ६ हजार ३०१ आम्दानी र ९९ लाख १ हजार ८४६ रुपैया खर्च भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय