निजगढ,       पूर्वमन्त्री, संविधान सभा सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गणेश धिमालले प्रनिनिधि सभा बैठकमा निजगढका एमालेका कार्यकर्ता विरुद्ध लाञ्छना लगाएर व्यक्त गरेको धारणाप्रति आपत्ति जनाउनुभएको छ ।

सांसद धिमालले बिहिबारको सांसद बैठकमा एमालेका स्थानीय कार्यकर्ता एवं निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका पूर्ववडा अध्यक्ष केशव ढोडारी र वनदेवी सामुदायिक वन समूहका पूर्व अध्यक्ष सिद्धबहादुर थापाको नाम नै किटान गरेर ‘भूमाफिया’ भनेपछि पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद धिमालको कटाक्ष गर्नुभएको हो ।

नेता पौडेलले लेख्नुभएको छ– माननीय जस्तो व्यक्ति जो आफैमा वकिल पनि हुन । उनले कुनै सत्यतथ्य नबुझिकन कसैले सुनाएको कुरा सम्मानित सदनमा बोल्नु र समाजका स्थापित नागरिकहरूलाई भू–माफिया आदिको संज्ञा दिएर उनीहरुको सम्मानमा चोट पु¥याउनु र अपमानित गर्नु खेदजनक छ ।’

पूर्व वडा अध्यक्ष ढोडारीले माओवादी ‘जनयुद्ध’ कालमा व्यक्तिले खान लागेको जग्गा विद्यालय, मन्दिर, गुम्बालगायत स्थानीय सार्वजनिक संस्थाहरूको संरक्षणमा ल्याउने काममा सहयोग मात्रै गरेको र त्यसबापत अनावश्यक झुट्टा मुद्दा लगाइए पनि अदालतबाट समेत सफाइ पाइसकेको उल्लेख गर्नुभएको छ । नेता पौडेलले वर्तमान सरकारद्वारा उक्त क्षेत्रमा बसेका सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी डोजर लगाएर लखेटेपछि बिचल्लीमा परेका ११ घरधुरी परिवारको पुनःस्र्थापना र व्यवस्थापनको लागि ढोडारीले पहल गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

त्यसैगरी सिद्धबहादुर थापाले पनि कुनै पनि किसिमको सरकारी जग्गा हिनामिना र किनबेच नगरेको उहाँले बताउनु भएको छ । ‘तर उनले वन समुहको अध्यक्षको हैसियतले उक्त जग्गा संरक्षण गर्नमा कमजोरी मात्र गरेका हुन ।’ उहाँको भनाइ छ । पौडेलले ढोडारी र थापा सिंगौल क्षेत्रका जनपक्षीय समाजसेवी र नेकपा एमालेका स्थापित, क्रियाशिल तथा ईमानजमान भएका अगुवा कार्यकर्ता भएको पनि उहाँको दाबी छ ।

‘त्यस्ता सम्मानित नागरिकलाई आफ्नै क्षेत्रका सांसदको रुपमा धिमालले संसदभित्रै सरासर झुटो लाञ्छना लगाउने काम गरेको सुनियो । उनीप्रति दया गर्नु बाहेक के गर्न सकिन्छ र ?’ भनेर दयाभाव पनि व्यक्त गर्नुभएको छ ।

वन क्षेत्रको जग्गा फडानी भएको घटनाको सन्दर्भमा स्मरण गराउदै पौडेलले भन्नुभएको छ– ‘उक्त जग्गा ‘जनयुद्ध’ कालमा फँडानी भएको हो । सो जग्गा व्यक्तिहरूले खानुभन्दा गाउँका विभिन्न सामाजिक संघसंस्थाहरू मातहत राख्दा उचित हुने गाउँलेहरुको समझदारीमा स्थानीय विद्यालय, मन्दिर, गुम्बा आदिले उपभोग गरेका हुन ।’ उहाँले लेख्नुभएको छ ।

‘सबैकुरा खुल्ला बुझेर पनि राजनीतिक प्रतिशोध गर्दै तीनै संस्थाहरूका पदाधिकारीलाई छानीछानी विगतमा मुद्दा लगाइएको र उक्त मुद्दा अदालतले फैसला गरिसकेको अवस्था छ ।’ पौडेलले सो सन्दर्भमा स्थानीय करिब ३ दर्जन व्यक्तिहरू उपर मुद्दा परेको र उनीहरू मध्ये कतिपय व्यक्तिहरुलाई मुद्दा नचलाइएको र पूर्ववडा अध्यक्ष ढोडारी सहित १६ जनालाई अदालतले सफाइ दिएको पनि फेसबुक स्टाटसमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय