निजगढ, निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवले फेरि अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ ।
एक साताअघि सार्वजनिक भएको कम्प्युटर इन्जिनियरिङ्गतर्फको परीक्षाफलमा सतप्रतिशत नतिजा निकालेको सो विद्यालयले कक्षा १२ को परीक्षामा पनि ७४ प्रतिशत विद्यार्थीलाई उतिर्ण गराउने सफलता प्राप्त गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत महिना लिएको कक्षा १२ को नियमित परीक्षाको आज प्रकाशित परीक्षाफलमा विद्यालयबाट सहभागी २३ मध्ये १७ जनाले ग्रेड हासिल गरेका हुन ।
परीक्षामा ७४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड हुनु विद्यालयको लागि उत्साहजनक विषय भएको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले बताउनुभयो । उहाँले कम्प्युटर इन्जिनियरिङ डिप्लोमाको परीक्षाफलको सतप्रतिशत नतिजापछि आफूहरुको लागि अर्को सफलता मिलेको पनि बताउनुभयो । परीक्षामा सफल हुने विद्यार्थीहरुलाई प्रअ लामाले बधाई समेत दिनुभएको छ ।
यसअघि जेष्ठ २७ गते प्रकाशित कम्प्युटर इन्जिनियरिङ डिप्लोमा परीक्षाफलमा पनि विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो । कम्प्युटर इन्जिनियरिङ डिप्लोमाको पाँचौं सेमेस्टरको परीक्षामा विद्यालयबाट सहभागी सबै विद्यार्थी सफल भएका थिए ।
लगातारको सफलतापछि विद्यालयको गुणस्तरीय शिक्षाको अवस्था प्रष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो । उहाँले विद्यार्थीको मेहनत तथा शिक्षकहरूको समर्पण र अभिभावक तथा शिक्षा क्षेत्रको सुधामा विद्यालय व्यवस्थापन समितिको चासो बढेपछि उत्कृष्ट नजितासंगै विद्यालयमा गुणस्तरीय शिक्षाको प्रत्याभूति भएको पनि बताउनुभयो ।



