निजगढ, राष्ट्रिय स्वतन्त्र पार्टी बाराले निजगढ वडा नम्बर ४ को तदर्थ समिति गठन गर्न दिएको जिम्मेवारी फेरबदल गरेको छ ।
रास्वपा बारा जिल्ला संगठन निर्माण विषेश समितिकी संयोजक कामिनी चौधरीले यसअघि वडा तदर्थ समिति गठन गर्न प्रतिनिधि तोकिनुभएकी निजगढ ६ की यमकुमारी सापकोटा (सरिता) को जिम्मेवारी परिवर्तन गरेर सविना विष्टलाई दिइएको हो ।
वडा समिति गठन गर्न बाँकी निजगढ वडा नम्बर ८ को प्रनिनिधिमा भने सन्दीप भट्टराई तोकिनुभएको छ ।
केही दिनअघि नेकपा एमाले परित्याग गरी रास्वपा प्रवेश गर्नुभएकी सापकोटाको नाममा कार्यकर्ताहरुले विरोध जनाएपछि उहाँलाई जिम्मेवारीबाट मुक्त गरिएको बताइएको छ । संयोजक चौधरीले आइतवार सूचना निकालेर सापकोटालाई वडा नम्बर ४ मा तदर्थ समिति गठन गर्न तोक्नुभएको थियो । तर उहाँको साटो आज अर्को सूचना निकालेर संयोजक चौधरीले बिष्टलाई प्रतिनिधिको जिम्मेवारी दिएको जनाउनुभएको हो ।
नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य सापकोटा हालैमात्र रास्वपा प्रवेश गर्नुभएको होे । सविना भने सो पार्टीको निजगढ नगरपालिका उपसभापति हुनुहुन्छ ।
त्यसैगरी रास्वपाले कलैया उपमहानगर पालिका र फेटा गाउँपालिकामा पनि जिम्मेवारी हेरफेर गरेको जनाएको छ । जसअनुसार कलैया वडा नम्बर १९ मा श्रीरामप्रसाद साह र फेटा गाउँपालिका वडा नम्बर १ मा सेफ अन्सारीलाई प्रतिनिधि तोकिएको छ ।
संयोजक चौधरीले जारी गरेको सूचनामा प्रतिनिधिहरुले वडामा गएर मंगलवारसम्म तदर्थ समिति गठन गर्नुपर्ने जनाइएको छ । गत शनिवार कलैयामा भएको जिल्ला स्तरीय विषेश भेलाले जिल्ला तदर्थ समिति गठन नगरी पालिका तहको अधिवेशनमा गर्ने निर्णय गरेपछि रास्वपाले हाल वडामा तदर्थ समिति गठन प्रक्रिया सुरु गरेको हो ।
विशेष भेलाले यही जेठ १७ गतेका लागि पालिका अधिवेशन र जेठ १२ र १३ गते वडामा तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।



