निजगढ,
बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित जनसृजनशील सामुदायिक वन क्षेत्रमा हावाहुरीका कारण रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः४५ बजे निजगढ २ सिंगोलबाट निजगढ ६ को योजना टोलतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि हावाहुरीका कारण रुखको हाँगा भाँचिएर खसेको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा ट्याक्टरमा सवार निजगढ नगरपालिका ४ पुरानो टोल निवासी ५५ वर्षीय देवबहादुर अर्याल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सामुदायिक प्रसूति गृह अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः१० बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै, ट्याक्टरमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका– १ घर भई हाल निजगढ–५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । उनको ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर तथा चालक निजगढ– ४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



