निजगढ,       बाराको सामुदायिक वन समूहको  क्षेत्रभित्रको वन अतिक्रमण खाली गराइने भएको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको निजगढमा आइतवार भएको जिल्लास्तरीय भेलाका सहभागीहरुले समूहमा वन हस्तान्तरण भएपछि अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्र खाली गराउने सहमति भएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा सो भेलामा सामुदायिक वन क्षेत्रभित्रको अतिक्रमण नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो । समूहमा हस्तान्तरण भएपछि अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउने बारेमा भेलामा सहमति भएको डिभिजन वन कार्यालय बारा सिमराका रेञ्जर निरज पोखरेलले जानकारी दिनुभयो । ‘समूहमा हस्तान्तरण भएको मितिपछि सुकुम्बासी वा अन्य कुनै नाममा समूहको वन अतिक्रमण भएको भए तत्काल खाली गराउने सहमति भएको छ ।’ उहाँले भन्नुभयो ।
भेलामा समूहको वार्षिक कार्यक्रम संचालन, सामुदायिक वन व्यवस्थापन, चोरी निकासी, आगलागी, चरिचरण नियन्त्रण, पुरानो काठ व्यवस्थापन, नदिजन्य पदार्थ व्यवस्थापनको बिषयमा समूहका पदाधिकारीहरुको भेलामा छलफल भएको थियो ।

वन समूहका पदाधिकारीहरुले आफ्नो समूहमा संचालनमा रहेका विभिन्न योजनाहरुको प्रतितिको अवस्थाबारेमा पनि जानकारी आदान प्रदान गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईको अध्यक्षतामा भएको सो भेलामा सालको बिउ संकलन तथा बिक्री गर्नेबारेमा पनि छलफल भएको रेञ्जर पोखरेलले जानकारी दिनुभयो ।

हिमालयन आमा एग्रो प्रालिका अमृत घलेले वनमा कुहिएर खेर जाने सालको बिउ खरिद गर्न आफ्नो कम्पनी तयार रहेको बताउदै संकलन कार्य संचालन गर्न समूहले आवश्यक कानुनी व्यवस्था मिलाउनु आग्रह गर्नुभएको थियो । घलेका अनुसार बाराको वन क्षेत्रबाट वार्षिक सयौंं टन सालको बिउ उत्पादन हुने र आफूहरु त्यसको खरिद गर्न इच्छुक रहेको पनि जानकारी गराउनुभएको थियो । उहाँले वन समूहको वार्षिक कार्ययोजनामा सालको बिउ संकलन र बिक्रीसम्बन्धि व्यवस्था नभएको हुँदा बिउ संकलन र बिक्री प्रक्रिया सुरु गर्न कार्ययोजना शंसोधन आवश्यक रहेको पनि बताउनुभयो । भेलामा प्रक्रिया पु¥याएर समूहको कार्ययोजना शंसोधन गर्न डिभिजन वन कार्यालयले सहजीकरण गर्नेबारेमा पनि सहमति भएको छ ।

कम्पनीले सालको बिउबाट तेल उत्पादन गरेर विदेशमा बिक्री गर्न नेपालका अन्य जिल्लाबाट यसको संकलन गर्दैआएको छ ।   

निजगढ नगरपालिका कार्यालयको सभा हलमा भएको सो भेलामा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार कर्ण, वन महासंघ बाराका अध्यक्ष बजगाईले वन संरक्षणमा समूहले निर्वाहा गर्नुपर्ने भूमिकाको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा क्रियाशील वन समूहका अध्यक्षलगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय