निजगढ,     संघीय सरकारले स्थानीय तहहरुको संख्या घटाउने तयारी गरेको चर्चा चलिरहेको बेला निजगढ नगरपालिकाका सरोकारवालाहरुले भने निजगढमा हालकै सीमाङ्कन यथावत कायम राख्न सुझाव दिएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार निजगढ नगरपालिकाले वडाको संख्या र सीमाना हरफेर तथा पालिकाहरु एक आपसमा गाँभिने सम्वन्धमा सुझाव संकलन गर्न आज आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरुले नगरमा वडाको संख्या घटाउन सकिने तर निजगढ र अर्को पालिकाको सीमाना गाँभ्न नहुने सुझाव दिएका हुन ।

‘नगरपालिकाको इतिहास, अस्तित्व र निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुलाई समेत मध्येनजर गरी निजगढ नगरपालिकाको प्रशासनिक खर्च कटौति गर्न वडाहरुको सख्या घटाउने तर नजिकको नगरपालिकासँगको सिमाना हेरफेर तथा एक आपसमा गाँभिने प्रयोजनको लागि सरकारले हाल लिएको नीति, संवैधानिक व्यवस्था तथा स्थानीय आवश्कतालाई प्राथमिकता दिएर नगरपालिकाको सीमालाई यथावत राख्ने र सो विषयमा वृहत साझा धारण तयार पार्ने निर्णय गरियो ।’ बैठकपछि नगरपालिकाका सूचना अधिकारी जीवन गौतमले भन्नुभयो ।

बैठकका सहभागीहरुमध्ये अधिकांशले प्रशासनिक खर्च घटाउन निजगढमा वडाको संख्या घटाएर ९ देखि ११ वटा वडा कायम हुनुपर्ने सुझाव दिएका थिए । त्यसैगरी केही सहभागीहरुले निजगढ र कोल्हबी नगरपालिका वा निजगढ र जीतपुरसिमरा उपमहानगरपालिलाई मिलाएर नयाँ उपमहानगरपालिका बनाउनुपर्ने सुझाव पनि दिएका थिए ।

वडाको सीमा हेरफेरको लागि पनि विद्यमान भोगचलनको आधारमा प्राविधिक तथा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा नक्सा कायम गर्ने निर्णय भएको छ ।
संघीय सरकारको परिपत्रअनुसार जिल्ला समन्वय समिति बाराले जिल्लाका पालिकाहरुसंग वडाको संख्या र सीमाना हरफेर तथा पालिकाहरु एक आपसमा गाँभिने सम्वन्धमा देशभरिका पालिकाहरुसंग सुझाव माग गरेको छ ।

त्यसैगरी बैठकले संघीय सरकारको निर्णय बमोजिम हाल विद्यालयहरुमा २ दिन बिदाले पठनपाठनमा असर परेकोभन्दै १ दिनमात्रै बिदा दिने व्यवस्था मिलाउन नगरपालिकालाई सुझाव दिइएको छ ।

‘शनिवार र आइतबार विद्यालयहरूमा बिदा दिइएको विषयमा छलफलफल गर्दा दुई दिन बिदा दिन कार्यले विद्यार्थीहरुको पठनपाठनमा गम्भीर प्रभाव परेकोले निजगढ नगरपालिका अन्तर्गतको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरु हप्तामा छ दिन अर्थात आइतबार पनि संचालन गर्न नगर शिक्षा समितिलाई सुझाव दिने निर्णय गरिएको छ ।’

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो छलफलमा मधेस प्रदेश सभा सदस्य मिना लामा, नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति अर्जुन अधिकारी, नेपाली काग्रेस नगर सभापति नवराज तिमल्सिना, एमाले नगर सचिव थानेश्वर सापकोटा, नेकपाका भिमसेन सापकोटा, वडा नम्बर ४ का वडा अध्यक्ष विसन सापकोटा, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर १२ का ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य अरुणा विकले सुझाव दिनुभएको थियो ।

त्यसैगरी  बैठकमा  गौरीशंकर क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायत पूर्ववडा अध्यक्ष जयराम कुँवर, केशव ढोडारी, महेशी कुँवर, रामजी बजगाई लगायतले पनि आआफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय