गोकुल घोरसाइने

निजगढ,

नयाँ पदाधिकारी चयनको लागि उम्मेदवारी दर्ता गर्नेक्रममा विवाद भएपछि निजगढ ८ स्थित बकैया नागमणी सामुदायिक वन समूहमा रोकिएको कार्यसमिति चयन प्रक्रिया शुरु गर्न शनीवार बोलाइएको भेला बिना निष्कर्ष टुङ्गिएको छ ।

छलफलमा सहभागी नेपाली काग्रेस र नेकपा एमाले निकट वन उपभोक्ताका प्रतिनिधिहरुले अध्यक्ष पदमा आआफ्नो दाबी प्रस्तुत गरेपछि भेला बिना निष्कर्ष सकिएको हो ।

डिभिजनल वन अधिकृत राजीवकुमार झाको उपस्थितिमा भएको सो भेलामा अगुवा उपभोक्ताहरु सुदर्शनप्रसाद कोइराला, पेमासिद्धि लामा, रवि दङ्गाल, मुकुन्द लामिछाने, टेकबहादुर लामा र वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामालगायतले नयाँ कार्यसमिति चयनको बारेमा बोलेका थिए ।

डिभिजन वन अधिकृत झाले उपभोक्ताहरुले सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गर्न सुझाव दिएको भएपनि एमाले र काग्रेश समर्थित उपभोक्ताका प्रतिनिधिहरुले अध्यक्ष पदमा आफ्नो पार्टी निकट अध्यक्ष हुनुपर्ने दाबी गरेपछि छलफलमा कुनै सहमति हुन नसकेको र आगामी बिहीवारसम्म फेरि अर्को बैठक बस्ने गरी छलफल सकिएको वन समूहका कार्यालय सचिव हरी न्यौपानले जानकारी दिनुभएको छ ।
समूहको कार्यसमितिको म्याद समाप्त भएर नयाँ कार्यसमिति चयन हुन नसकेपछि डिभिजन वन कार्यालय बाराले समय सीमानै तोकेर यही भाद्र महीनाको मसान्तभित्र नयाँ कार्यसमिति चयन गर्न भाद्र २ गते पत्राचार गरेपछि सोही विषयमा छलफल गर्न समूहका अगुवा उपभोक्ताहरुलाई छलफलमा डाकिएको थियो ।

यसअघि नयाँ कार्यसमितिको निर्वाचनको लागि समूहका पदाधिकारी र सदस्यहरुको मनोनयनपत्र दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएपछि गत वैशाख २७ गतेको लागि तोकिएको निर्वाचन रोकिएको थियो ।

स्थानीय राजनीतिक दलहरुले गठबन्धनसहित उम्मेदवारहरुको प्यानल बनाएर निर्वाचनको तयारी गरेका थिए । मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भइसकेपछि नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्ताको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न सकेको थिएन ।

उम्मेदवारी दर्तापछि निर्वाचन समितिले बोलाएको समयमा सम्पर्क गर्न ढिला आएको भन्दै कांग्रेस समर्थक उपभोक्ताहरुले चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग राखेर नामावली सार्वजनिक गर्न अवरोध गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वन समूहको अध्यक्षमा अर्जुन अधिकारीको नेतृत्वमा २ जना सदस्यहरुलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय