निजगढ, अजरबैजानमा हुने फिफा यू–१५ विश्वकप तथा फेस्टिभलका लागि निजगढ फुटबल क्लबका उदयीमान खेलाडी सुजित लोप्चन अन्तिम छनोटमा पर्न सफल भएका छन् ।
निजगढ १० लालका लोप्चनले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको देशव्यापी बन्द प्रशिक्षण र विशेष छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम २० खेलाडीको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
एन्फाले सार्वजनिक गरेको आधिकारिक सूचीअनुसार सुजित लोप्चनलाई टोलीको रक्षापंक्ति सम्हाल्ने मुख्य जिम्मेवारी अर्थात् सेन्टर ब्याक भूमिकाका लागि छनोट गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला र प्रदेशबाट छनोट गर्दै शीर्ष २० खेलाडीको नाम सार्वजनिक गरेको हो । त्यसबाट ६ खेलाडी बाहिरिनेछन् र १४ सदस्यीय टोलीले यू–१५ विश्वकप तथा फेस्टिभल खेल्नेछ । सुजितको नाम छनोट सूचीको दोस्रो नम्बरमा परेकोले राष्ट्रिय टोलीको अन्तिममा पनि पर्ने निजगढ फुटबल क्लबका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।
एन्फाले जिल्ला र प्रदेशका छनोट भएर सहभागी भएका ५३४ खेलाडीबाट एन्फाले २० खेलाडी छानेको हो । कोशी, मधेश, बागमती प्रदेश र तीन एकेमेडीमा रहेका खेलाडीलाई काठमाडौं तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई बुटवलमा प्रारम्भिक छनोट गरिएको थियो ।
यो सफलतासँगै सुजितले अन्तर्राष्ट्रिय फुटबल मञ्चमा नेपाल र आफ्नो गृह नगर निजगढको नाम उच्च राख्ने सुनौलो अवसर प्राप्त गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।



