लायन्स क्लब अफ निजगढ युथले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४७ हजार दुई सय ६६ रुपैयाँ सहयोग गरेको छ । विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले क्लबले उक्त रकम कोषमा जम्मा गरेको हो ।
‘मानवीय सेवामा सानो प्रयास’ अभियान अन्तर्गत क्लबले सहयोग गरेको जनाएको छ । विपद्को कठिन अवस्थामा पीडित तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन आफ्नोतर्फबाट योगदान गरेको क्लबका चार्टर प्रेसिडेन्ट इराज कोइरालाले बताए ।
‘विपद्का कारण पीडित तथा प्रभावित परिवारको राहत र उद्धारमा हाम्रो सहयोगले केही भए पनि योगदान पुर्याउने विश्वास लिएका छौँ,’ कोइरालाले भने ।
उनले विपद्को समयमा राज्यका निकायसँगै नागरिक समाज, सामाजिक संघसंस्था तथा आम नागरिकले आ-आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने बताए । क्लबले गरेको सहयोगलाई मानवीय सेवाप्रतिको सामाजिक उत्तरदायित्वका रूपमा लिएको उनको भनाइ छ ।
‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो । विपद्को समयमा सबैले आ-आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गरौँ,’ कोइरालाले आग्रह गरे ।
क्लबले विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि सहयोग जुटाउन अन्य व्यक्ति तथा संघसंस्थालाई समेत आह्वान गरेको छ ।



