निजगढ, बाराको निजगढस्थित एक होटलमा शुक्रबार राति एक युवतीको शंकास्पद मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले सीताकी साथी एक किशोरी र २ जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीका ३५ वर्षीय युवक महेश माझी, सोही गाउँका अर्का ३६ वर्षिय युवक सुनिल बम्जन र निजगढ ९ की वर्ष १८ की एक किशोरीलाई नियन्त्रणमा लिएको हो ।
निजगढ नगरपालिका ९ बुद्धचोकस्थित गुरुङ होटलमा निजगढ नगरपालिका १२ कुलिया घर भएकी २५ वर्षीया सीता थिङ्गको मृत्यु भएको हो ।
अन्य तीन जना साथीसँगै होटलमा पुगेकी थिङ्ग राति ११ बजे अचेत अवस्थामा भेटिएकी थिइन । सीताको घाँटी र पिडौलामा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सीता महेश, टाँगियावस्ति गाउँकै अर्का युवक सुनिल र अर्की किशोरीसहित होटलमा पुगेकी थिइन् । साँझ करिब साढे सात बजे उनीहरु होटलमा प्रवेश गरेको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको छ । उनीहरुले होटलमा बसेर मदिरा पिएको र खाना खाएपछि छुट्टाछुट्टै कोठामा गएका थिए । महेश र सीता एउटा कोठामा र अर्का दुईजना भने अर्को कोठामा बसेका थिए ।
राति करिब ११ बजे अर्को कोठामा रहेकी किशोरीलाई बोलाएर सीताले बाथरुममा झुण्डिने प्रयास गरेको र आफू एम्बुलेन्स बोलाउन हिडेकोभन्दै होटलबाट निस्कएका महेश मोटरसाइकल चढेर फरार बनेका थिए । सो क्रममा उनले होटल सञ्चालकलाई समेत साथी बिरामी भएकाले एम्बुलेन्स लिन जान लागेको बताएका थिए । भाग्ने क्रममा महेशले निजगढको शहिद चोकमा पुगेर गस्तिमा रहेको प्रहरीलाई समेत होटलमा एक युवतिले झुन्डिएर आत्माहत्या गरेको भन्ने खबर सुनाएका थिए ।
महेशसँगै आएका अर्का युवक पनि उनी निस्किएको केही समयपछि होटलबाट निस्किएपछि घटनास्थलमा रहेकी सीताकी साथीले होटल सञ्चालकलाई घटनाबारे खबर गरेकी थिइन ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा पुगेको प्रहरी टोली घटनास्थलमा बियरको खाली सिसीहरु तथा सीताको मोबाइल र होटलको बाथ रुमको ढोका पनि फुटेको अवस्था फेला पारेको थियो । महेशको मोबाइल भने सीताको घरमा फेला परेको थियो ।
महेशले केही समयअघि मात्रै घरमा पुगेर सीतालाई मोटरसाइकलमा होलल ल्याएका हुन । सीताकी साथी भनिएकी निजगढ अर्की किशोरी भने उनीहरु आएको केही समयपछि होटलमा पुगेकी थिइन ।
घटनास्थलमा रहेकी सीताकी साथीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले महेशलाई आज बिहान चार बजे निजगढ नगरपालिका ७ माझी टोलस्थित उनको दिदीको घरबाट पक्राउ गरेको हो भने अर्का युवक यसअघि हिजो राति नै टाँगियावस्तिको जंगलबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर पनि राति नै कलैयाबाट निजगढ पुग्नुभएको थियो ।
बाराका प्रहरी प्रवक्ता पण्डितले शल्यपरीक्षण रिपोर्टपछि मृत्युको कारण खुल्ने बताउनुभएको छ । मृतकको शव शल्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पता काठमाण्डौं पठाइएको निजगढ प्रहरीले जनाएको छ ।



