निजगढ,     सरकारले विकल्प बिना बस्ती खाली गराउने प्रयास थालेपछि निजगढका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले आज निजगढस्थित महेन्द्र राजमार्गमा प्रदर्शन गरेका छन ।

संयुक्त सुकुमवासी तथा अव्यवस्थित भूमि संरक्षण संघर्ष समिति निजगढले आयोजना गरेको प्रदर्शनमा निजगढ क्षेत्रका सयौंको सहभागिता रहेको थियो ।सब डिभिजन वन कार्यालय रतनपुरले निजगढ क्षेत्रका सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमणको विवरण वन समूहसंग माग गरेपछि यस क्षेत्रका सुकुमवासी र अव्यवस्थित बसोबासीहरु आन्दोलित बनेका हुन ।
वन कार्यालयले जिल्लास्थित सरकारी र सार्वजनिक कार्यालयहरुमार्फत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने एंव अतिक्रमित संरचना हटाउने कार्ययोजना तयार पार्ने प्रयोजनको लागि वन समूहको क्षेत्राधिकारभित्र रहेको र अतिक्रमणमा परेको जमिनको विवरण उपलब्ध गराउन भनेको हो ।

वन अतिक्रमणकारीको नाममा आफूहरु वर्षौदेखि बसोबास गर्दैआएको बस्ति हटाउने षडयन्त्र गरिएकोले आन्दोलनमा उत्रिनुपरेको निजगढ १२ का दिनेश लामाले बताउनुभयो । उहाँले सत्ताको आडमा भूमिहीन दलित्, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको घरमा डोजर चलाउने तयारी सरकारले गरेको आरोप पनि लगाउनुभयो ।

आन्दोलनमा एमाले निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलान, नेकपाका नेता सन्तोष दङ्गाललगायतले सुकुम्बासी र भूमिहिनहरुको समस्या बारेमा बोल्नुभएको थियो । सोही क्रममा उनीहरुले निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीलाई ज्ञापनपत्र समेत बुझाइएको थियो । सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको संरक्षणको लागि पहल गर्न माग गर्दै उनीहरुले मेयर पुरीलाई पत्र बुझाएका हुन ।

यसैबीच देशभरिका भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सडकमा उत्रिएका छन् । विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीले हिजो नै धनुषाको ढल्केवरलगायत विभिन्न स्थानमा प्रदर्शन गरेका हुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर क्षेत्रमा स्थानीयले प्रर्दशन गरेका हुन । नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि स्थानीय बासिन्दाले विरोध गर्दैआएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय