गोकुल घोरसाइने
निजगढ, निजगढ ६ को सडकटोलमा आगामी माघ २१ गतेबाट हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ को उद्धटन नवतनपुरधाम जामनगरका धर्माचार्य श्रीकृष्णमणीजी महाराजले गर्नुहुने भएको छ ।
महोत्सव आयोजक मूल समारोह समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर अपरान्न १२.४५ बजे महोत्सवको उद्धाटन हुने जानकारी गराएको हो ।
मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजले महोत्सव उद्धाटनअघि महाराज कृष्णमणीले ताम्रपत्र र कलश अनावरण तथा झण्डोत्तोलन गरेर श्रीकृष्ण प्रणामी मन्दिरको उद्धाटन र मन्दिर परिसरमा धार्मिक विरुवा ‘खिजडा’ रोप्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।
महोत्सवमा कृष्णमणीसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी र मंगलपुरीधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्री पनि सहभागी हुने मूल समारोह समितिले जानकारी दिएको छ ।
नेपालको इलाम जिल्लामा जन्मिनुभएका ६२ वर्षिय कृष्णमणीले पन्जाव विश्व विद्यालयकाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । उहाँले नेपाल, भारतलगायत युरोप र अमेरिकाका विभिन्न देशहरुमा २५८ वटा कृष्णप्रणामी मन्दिर स्थापना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उहाँ भारतीय आर्यन समाजको उपाध्यक्ष समेत हुनुहुन्छ । समितिले दिएको जानकारी अनुसार कृष्णमणीजी महाराज आगामी माघ २० गते निजगढ आइपुग्ने कार्यक्रम छ । वीरगञ्ज नाका हुँदै निजगढ आउनुहुने कृष्णमणीलाई आयोजक समितिको तर्फबाट पथलैयामा स्वागत गरिने र भोलिपल्ट नै सिमरा विमानस्थलबाट बिदाई गर्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट काठमाण्डौं हुँदै दिल्ली फर्किने साहित्याचार्य जनार्दनले जानकारी दिनुभयो ।
श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायका प्रमुख ३ ठूला धाममध्ये भारतमा रहेको नवतनपुर तथा महामंगलपुरी सूरज र मंगलपुरी सिक्कीमधाम सबैभन्दा ठूलो र पवित्र तीर्थ स्थल मानिन्छ ।
महामहोत्सवअन्तर्गत भोलि शहीद हिरालाल मार्गमा सरसफाइ कार्यक्रम र माघ २० गते निजगढ नगरपालिकाका विभिन्न स्थानमा मोटरसाइकल ¥याली तथा २१ गते महोत्सवको कलश शोभा यात्रा आयोजना गरिने पनि सो अवसरमा जनाइएको थियो ।
पत्रकार सम्मेलनमा मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले महामहोत्सवको सुरक्षा तयारी बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा कृपासिन्धु गुरुकुलकी विदुषी उषा घिमिरे र समितिका पदाधिकारी र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।



