निजगढ, सम्पन्न कामको भुक्तानी दिने क्रममा घुस रकम लिएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हुदैआएको टिप्पणीप्रति निजगढ नगरपालिकाका कर्मचारीहरुले ध्यानाकर्षण भएको भन्दै सुरक्षित वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सृजना गर्न माग गरेका छन ।

नगरपालिकाका कर्मचारीहरुले हस्ताक्षरसहितको विज्ञप्ति निकालेर प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत नगरप्रमुख सुरत पुरीलाई ध्यानाकर्षणपत्र बुझाएर यस्तो माग गरेका हुन ।

निजगढ नगरपालिका कार्यपालिका सदस्य शर्मिला सुनारले २ साताअघि आफ्नो व्यक्तिगत फेसबुक पेजबाट कार्यालयका केही कर्मचारीहरुले सम्पन्न योजनाको रकम भुक्तानी गर्ने क्रममा ठेकेदारसंग रकम नलिन र लिएको भए फिर्ता गर्नभन्दै स्टाटस लेखेपछि सोही घटनालाई लिएर संचारमाध्यम र सामाजिक सञ्जाल फेसबुक पेजमा समेत कर्मचारीहरुलाई आक्षेप लगाएर त्रसित पार्ने क्रम बढेपछि कर्मचारीहरुले विज्ञप्ति निकालेर सो घटनाप्रति आपत्ति जनाएका हुन ।

सोही विषयलाई लिएर कार्यपालिका बैठकले निजगढ ४ का वडा अध्यक्ष विशन सापकोटाको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय छानबिन समितिसमेत सो घटनाको बारेमा छानबिन गरिरहेको छ ।

कार्यालयका सबै कर्मचारीहरुको हस्ताक्षरसहित बुझाएको पत्रमा कानुनले तोकेअनुसार सेवा गर्दै आएका कर्मचारीहरुलाई लक्षित गरी सामाजिक संजालमामार्फत आक्षेप लगाउनु खेदजनक कार्य भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ– ‘आरोपको सत्य तथ्य सार्वजिनक गर्नका लागि नगर कार्यपालिकाबाट छानबिन समिति गठन गरी प्रतिवेदन पेस गर्ने प्रक्रियामा रहेको भएता पनि सामाजिक संजालमा आग्रह पूर्वाग्रह ढंगबाट राष्ट्रसेवक कर्मचारीहरुलाई गालीगलौज गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने, कार्यालयमा आएर अपुष्ट समाचारकै आधारमा कालोमोसो दल्नेसम्मका धाकधम्कीपूर्ण क्रियाकलापले कर्मचारीमा त्रासदीपूर्ण वातावरण सृजना भएको र उत्तेजित क्रियाकलापका विषयमा नगरपालिकाका कर्मचारीहरुको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यसैगरी पत्रमा राष्ट्रसेवक कर्मचारीहरु सेवाग्राहीका दैनिक समस्या तथा कार्यालयबाट प्रवाह गर्नुपर्ने सेवाप्रति सकरात्मक, सचेत र कटिवद्ध रहेको जनाउँदै कुनै कर्मचारीले कानून अनुसार काम नगरेको भन्ने लागेमा वा काम र व्यवहारप्रति चित्त नबुझेमा सप्रमाण सम्बन्धित निकायमा पेस गरी कानुनी दायरामा ल्याउन सकिने पनि भनिएको छ ।

‘अपुष्ट प्रमाणका अधारमा कर्मचारीलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने तथा थर्काउने, धम्काउने साथै मनोबल गिर्ने खालका कुनै पनि गतिविधि गर्ने गराउने कार्य तत्काल बन्द गर्न र प्रमुख प्रशासकीय अधिकृत समक्ष मात्र आफ्ना गुनासाहरु राखुपर्ने विधिलाई अबलम्बन गर्नुपर्ने कुरामासमेत सचेत गराउन चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा उपयुक्त कार्यवातावरण निर्माण गरी राष्ट्रसेवक कर्मचारीहरुप्रति आगामी दिनमा समेत विधि प्रक्रिया बमोजिम सचेत गराउनुपर्ने र व्यक्तिगत रुपमा लाञ्छना लगाउने गतिविधिहरु अन्त्य गरी कर्मचारीहरुलाई सुरक्षित वातावरणमा सेवा प्रवाह गर्ने अवस्था निर्माण गर्नुपर्ने कुरामा सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छौं । भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय