निजगढ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निजगढमा पार्टीका नेता, कार्यकर्ताहरुले सोमवार स्वागत गरेका छन ।
पूर्वपश्चिम राजमार्ग हुदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाने क्रममा निजगढ आइपुग्नुभएका सभापति थापालाई पार्टीका नेता, कार्यकर्ताहरुले शहीद चोकमा भेला भएर स्वागत गरेका हुन । सभापति थापालाई स्थानीय कार्यकर्ताहरुले खादा र माला लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसबाट बारा क्षेत्र नम्बर १ का उम्मेदवार शम्भुबहादुर बुढाथोकी, क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार एंव काग्रेस सहमहामन्त्री फरमुल्लाहा मन्सुर, बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादव, बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवलगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सिमरा विमानस्थल हुँदै आउनुभएका थापालाई सिमरामा पनि कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिनुभएका थापा पहिलो पटक निर्वाचन क्षेत्रमा जान लाग्नुभएको हो । सभापति थापाले प्रतिनिधिसभा सदस्यको लागि बारेसनामार्फत सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
यसैबीच थापा सर्लाहीको मूर्तियास्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शनपछि आज नै हजरियास्थित आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा प्रवेश गर्नुभएको छ ।
सभापति थापाले सोमबार अपरान्ह धनकौलस्थित क्षेत्र नम्बर ४ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गरेको नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो ।
सिंहका अनुसार पार्टी सभापति थापा तत्काल चार दिन सर्लाही ४ मै बसेर नेता, कार्यकर्तासँग र मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक मधेश प्रदेशमा आउनुभएका थापालाई सिमरा विमानस्थलमा स्वागत गर्दै सहमहामन्त्री फरमुल्लाह मन्सुर, मधेश प्रदेश कार्य समितिका सभापति एवं मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलगायतले स्वागत गरेका थिए । नेताहरु सिमराबाट सभापति थापासंगै सर्लाहीसम्मै पुगेका थिए ।



