कुनै पनि सामान किन्दा हामी त्यसको गुणस्तरमा कत्तिको ढुक्क हुन्छौँ? के बजारमा पाइने औषधिले सोचेजस्तै काम गर्छ? के हामीले खाइरहेको खानेकुरा वा बच्चाले खेल्ने खेलौना विषालु रसायनमुक्त छन? के हाम्रा दिदी बहिनीहरूले प्रयोग गरेका श्रृंगारका समान गुणस्तरीय छन? यी प्रश्नहरूको वैज्ञानिक उत्तर दिने माध्यम नै ‘तेस्रो पक्ष परीक्षण’ (Third Party Testing) हो।

तेस्रो पक्ष परीक्षण भन्नाले कुनै पनि उत्पादन वा सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारिता मापन गर्न निर्माता वा सेवा प्रदायकभन्दा अलग रहेको स्वतन्त्र प्रयोगशालाद्वारा गरिने मूल्याङ्कन हो। यो प्रक्रिया कुनै व्यावसायिक स्वार्थ वा पूर्वाग्रहबाट मुक्त हुने भएकाले यसको निष्पक्षता उच्च हुन्छ।

किन आवश्यक छ स्वतन्त्र परीक्षण?
१. स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी
औषधि र खाद्यपदार्थमा यो जीवन–मरणको सवाल बन्छ। उदाहरणका लागि, यदि कुनै औषधि कम्पनीले बनाएको ’पारासिटामोल’मा सक्रिय तत्त्वको मात्रा कम छ भने बिरामी निको हुँदैन। तेस्रो पक्ष परीक्षणले यस्ता औषधिमा हुनुपर्ने सक्रिय तत्त्वको मात्रा र हानिकारक मिसावट छ/छैन भन्ने वैज्ञानिक आधार प्रदान गर्छ।

२. निष्पक्षता र बजार विश्वास
निर्माताले आफ्नो सामान सधैँ राम्रो छ भन्छ। तर, जब कुनै स्वतन्त्र प्रयोगशालाले “यो सुरक्षित छ” भनेर छाप लगाइदिन्छ, तब उपभोक्ता, व्यापारी र सरकार सबैको विश्वास बढ्छ। जस्तैः कुनै सिमेन्ट उद्योगले आफ्नो सिमेन्ट बलियो छ भन्दैमा पुग्दैन, इन्जिनियरिङ प्रयोगशालाको परीक्षण रिपोर्टले मात्र त्यसको वास्तविक क्षमता (क्तचभलनतज) प्रमाणित गर्छ।

३. कानुनी र अन्तर्राष्ट्रिय मापदण्ड
नेपालमा औषधि व्यवस्था विभाग वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कतिपय वस्तुको बजार प्रवेशपूर्व तेस्रो पक्ष परीक्षण अनिवार्य गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली जडिबुटी वा चिया निर्यात गर्नका लागि ‘ISO’ वा ‘ASTM’ जस्ता अन्तर्राष्ट्रिय मानक अनुरूपको परीक्षण रिपोर्ट नभई हुँदैन।

नेपालका लागि यसको विस्तारित महत्व
नेपालजस्तो आयातमा निर्भर र निर्यातको सम्भावना बोकेको देशका लागि स्वतन्त्र प्रयोगशालाहरूको स्थापना हुनु केवल प्राविधिक विषय मात्र नभई आर्थिक मेरुदण्ड पनि हो।

१. स्थानीय जडिबुटीको ब्रान्डिङः नेपालका हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरूलाई तेस्रो पक्ष प्रयोगशालामा परीक्षण गरी तिनको औषधीय गुण प्रमाणित गर्न सकेमा हामीले विश्व बजारमा उच्च मूल्यमा निर्यात गर्न सक्छौँ।

२. अनुसन्धान र नवप्रवर्तनः यस्ता प्रयोगशालाले नेपाली वैज्ञानिक र विद्यार्थीहरूलाई आधुनिक उपकरणसँग साक्षात्कार गर्ने र स्वदेशमै अनुसन्धान गर्ने वातावरण दिन्छन्। यसले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न समेत मद्दत पुग्छ।

३. पूर्वाधार विकासमा गुणस्तरः सडक, पुल वा भवन निर्माणमा प्रयोग हुने छड र सिमेन्टको स्वतन्त्र परीक्षण गर्ने परिपाटीले विकासको आयु बढाउँछ। भूकम्प प्रतिरोधी संरचनाका लागि यो झन् अनिवार्य छ।

४. उपभोक्ता अधिकारको रक्षाः मिसावटयुक्त खानेतेल वा म्याद नाघेका सामग्रीको पहिचान गरी उपभोक्तालाई ठगिनबाट जोगाउन यस्ता प्रयोगशालाहरू ‘वाचडग’का रूपमा उभिन सक्छन्।

निष्कर्ष
अन्त्यमा, तेस्रो पक्ष परीक्षण केवल एउटा कानुनी प्रक्रिया मात्र नभएर उत्पादनको गुणस्तर, सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्ने निर्णायक कडी हो। नेपालले आफ्ना प्राकृतिक स्रोतहरूको सदुपयोग गर्न, निर्यात बढाउन र नागरिकको स्वास्थ्य रक्षा गर्न अत्याधुनिक र मान्यताप्राप्त स्वतन्त्र प्रयोगशालाहरूको सञ्जाल विस्तार गर्न ढिलाइ गर्नु हुँदैन। जब उत्पादनले वैज्ञानिक परीक्षणको कडी पार गर्छ, तब मात्र समृद्धिको आधार बलियो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय