गोकुल घोरसाइने/कोल्हबी, २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट कोल्हबी नगरपालिकाको नगर प्रमुख पदमा भरत भण्डारीले चुनाव जित्नुहुन्छ होला भनेर थोरैले मात्रै विश्वास गरेका थिए । तर धेरैको अनुमान विपरीत नेपाली कांग्रेशका मुरलिधर चौधरीलाई पछार्दैै भण्डारीले नगरपालिकाको मेयर पदमा बाजी मार्नुभयो ।

दोस्रो कार्यकालको लागि उहाँ फेरि पनि एमालेको सूर्य चिन्ह लिएर मैदानमा हुनुहुन्छ । अहिले पनि केही मानिसहरुको उस्तै भनाइ पाइन्छ– ‘कोल्हबी जस्तो थारु समुदायका मतदाताको बाहुल्यता रहेको नगरपालिकामा पहाडी समुदायका भण्डारीले चुनाव जित्नु पलामको चिउरा चपाउनु सरह हो ।’ तर भण्डारी यो पटक झन बढी मतान्तरमा चुनाव जित्ने कुरामा ढुक्क देखिनुुहुन्छ । चुनाव प्रचारको क्रममा कोल्हबी ४ जुगुवामा अन्य आफ्ना अन्य उम्मेदवारसंगै घरदैलो गरिरहदा भेटिनुभएका भण्डारीले भन्नुभयो, ‘पहिले पनि धेरैले पत्याएका थिएनन, यसपटक उपमेयर र अधिकांश वडाअध्यक्षसहित अझ राम्रोे मतान्तरमा चुनाव जितेर देखाउनेछु ।’

कुल २८ हजार ९८६ मतदाता रहेकोे कोल्हबीमा ६० प्रतिशतभन्दा बढी थारु समुदायका मतदाता छन । बाँकी पहाडिया २५ र मधेसी समुदायका १५ प्रतिशत मतदाता छन । मेयरमा भण्डारीले चुनाव हार्ने आँकलन गर्नेहरुले देखाउने आधार पनि यही हो कि– थारु बहुल क्षेत्रमा मतदाताले यसपटक थारु उम्मेदवारहरुलाई नै मतदान गर्ने छन । मतदाताको ठूलो हिस्सा ओगटने भएकोले सोही भोट तानेर जित्ने आशमा काग्रेशले मेयर-उपमेयर दुबै पदमा एउटै समुदायका उम्मेदवार उतारेको छ । उसले जातीय फ्याक्टरलाई प्रयोग गर्न यसपालि पनि मेयरमा रामप्रसाद चौधरी र उपमेयरमा लक्ष्मीदेवी चौधरीलाई उम्मेदवार बनाएको हो ।

तर नगरका मतदाताहरुमा जातीय मुद्दाले असर पार्ने शंभावना नरहेको स्थानीय नेपाल माध्यमिक विद्यालय सपहीका प्रधानाध्यापक भुनेश्वर चौधरीले बताउनुभयो । ‘भण्डारीलाई जिताएर मतदाताले अघिल्लो निर्वाचनमा नै यो कुराको पुष्टि गरिसकेका छन, उहाँले भन्नुभयो, जनताले अहिले पनि एउटा जातिको मात्रै हित गर्ने नभएर सबैको हित र रक्षा गर्ने उम्मेदवार खोजेका छन ।’ उहाँले जातीय विविधता भएको कोल्हबी जस्तो पालिकामा जातीय सन्तुलन र सदभाव कायम गर्न सक्ने उम्मेदवार एमालेका भण्डारी मात्रै रहेको र फेरि पनि उहाँले नै चुनाव जित्ने बताउनुभयो ।

कांग्रेशका रामप्रसाद चौधरीभन्दा एमालेका भण्डारी थारु समुदायमै पनि बढी लोकप्रिय सावित भएका छन । अघिल्लो निर्वाचनमा ‘कोर थारु बेल्ट’ मानिने वडा नम्बर ६ र १० नम्बर वडामा कांग्रेश उम्मेदवारको भन्दा निक्कै बढी भोट ल्याएर भण्डारीले थारु समुदायका मतदाताबीचको लोकप्रियताको पुष्टि गरिसक्नुभएको छ । वडा नम्बर ६ मा पर्ने पर्सौना र कुमरगढीबाट कांग्रेशका तेतिबेला मेयर पदका उम्मेदवार मुरलीधर चौधरीले ५४५ भोट पाउदा भण्डारीले ६१८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी नेपाली कांग्रेशका सहमहामन्त्री एंव बहालवाला मन्त्री उमाकान्त चौधरीको गृह क्षेत्र समेत पर्ने वडा नम्बर १० मा पनि भण्डारीको पक्ष र विपक्षमा ६६६÷६५९ मत परेको थियो । वडा नम्बर २, ४ र ८ जस्ता पहाडिया समुदायको बाक्लो बसोबास रहेको क्षेत्र एमालेको परम्परागत गढ नै मानिन्छ । जहाँबाट भण्डारीले विपक्षीको भन्दा दोब्बर बढी मत प्राप्त गर्नुभएको थियो । यसपटकको चुनावमा दुबै क्षेत्रबाट अझ बढी मत प्राप्त हुने नेकपा एमालेका कार्यकर्ताहरुको दाबी छ ।

कालो वर्ण, केही होचो कद र हट्टाकट्टा शरीरका भण्डारी झट्ट हेर्दा ‘थारु’ जस्तै देखिनुहुन्छ । रुप, रंग र शारीरिक बनावटले उहाँको थारु समुदायमा लोकप्रिय छवि निर्माण गर्न मद्दत पुगेको हो । केल्हबीस्थित अनुप दिपनी माध्यमिक विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै भण्डारी थारु समुदायका विद्यार्थीहरुमा लोकप्रिय बन्दै आएको विद्यालयका पूर्वप्रधानाध्यापक केवलप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी जीवनदेखि नै थारु समुदायको बीचमा खाइखेली गरेर हुर्किनु भएका भण्डारीले त्यतिबेला पनि थारु समुदायका धेरैलाई साथीहरु बनाउनुुभएको थियो । त्यस्ता साथीमध्ये हाल सपहीस्थित थारु टोलमा बसोबास गर्दै आउनुभएका विरेन्द्र चौधरी अहिले पनि भण्डारीको हितौषिको रुपमा हुनुहुन्छ ।

एउटा पुरानो घटनाको स्मरण गर्दै विरेन्द्रले सुनाउनुभयो, ‘भरतजी र हामी संगै ट्युशन पनि पढने गथ्यौं, मेरो घरपरिवारको आर्थिक अवस्था अन्त्यन्त कमजोर थियो, एकपटक ट्युशन फि तिर्न नसकेर समस्या परेको बेला भण्डारीले आफ्नै गोजीबाट निकालेर रकम तिर्दिनुभयो ।’ भण्डारी सरल, मिलनसार स्वभाव र सहयोगी भावनाको नेता भएको चौधरीको भनाइ छ । विरेन्द्रले भन्नुभयो, साथीको दुःखमा साथ दिने भण्डारीको पहिलेदेखिको राम्रो बानी हो ।’ त्यही कारणले थारु समुदायका मानिसले पनि भण्डारीलाई आफ्नै दाजुभाइ जस्तै मानेर माया र सम्मान गर्दै आएको उहाँले सुनाउनुभयो ।

नेकपा एमालेको राजनीतिसंगै केही समय निर्माण व्यवसायीको रुपमा समेत काम गर्नुभएका भण्डारीलाई कोल्हबीका धेरै मतदाताले विकासप्रेमी नेताको रुपमा पनि लिने गरेका छन । पहिलो पटक मेयर पदमा निर्वाचित हुनुभन्दा अघि आफ्नो निजी निर्माण सामग्रीहरुको प्रयोग गरेर गाउँमा बाटो÷घाटो, पुल÷पुलेसा र बाँध÷पैनी जस्ता विकास निर्माण कार्य गरेकाले पनि उहाँको विकासप्रेमी छवि बनेको हो । ‘भण्डारी विकासप्रेमी र त्यागी नेता हुनुहुन्छ, एमालेका कार्यकर्ता जीतबहादुर चौधरीले भन्नुभयो, आफ्नै खर्चमा विकास निर्माणको काम गर्ने भण्डारी जस्तो नेता अन्त कतै पाइदैन ।’

त्यसैगरी मधेस र थारुहट आन्दोलनताका कोल्हबी क्षेत्रमा जातीय सदभाव कायम राख्न भण्डारीले खेलेको भूमिका यहाँका जनताको मानसपटलमा अहिले पनि ताजै रहेको एमालेका अर्का स्थानीय नेता गोविन्द पौडेलले बताउनुभयो । ‘मधेस र थारुहट आन्दोलनको नाममा धेरैले नगरमा समुदायबीचको सदभाव भडकाउने प्रयास गरे, तर जनताको घरदैलोमा पुगेर उहाँले अपसी सदभावको पक्षमा निरन्तर वकालत गरिरहनुहुन्थ्यो ।’ जातीय एकता र सदभावको पक्षमा उहाँले खेल्दै आएको भूमिकाको कारणले पनि सबै सम्प्रदायका मतदाताबीच भण्डारी लोकप्रिय बनेको पौडेलको भनाइ छ ।

भण्डारीलाई यसपालि पनि चुनाव जित्न सहज हुने अन्य कारणहरु पनि छन । पहिलो कुरा कार्यपालिकामा अल्पमतमा हुदाँहुदै पनि उहाँले ५ वर्षसम्म निर्वादरुपमा नगरपालिकामा विकास निर्माण गतिविधि संचालन गर्नुभयो । यो अवधिमा उहाँको समन्वयकारी र लोकप्रिय छवि अझ विस्तार भएको पाइएको छ ।

त्यसैगरी कांग्रेश उम्मेदवार चौधरीले तामागढी साझेदारी वन समितिको अध्यक्ष भएर काम गर्दा वन उपभोक्ताहरुको हित विपरीत गरेको कामले उपभोक्ता चिढिएका छन । अध्यक्ष हुँदाको बखत वन संरक्षणको नाममा अनावश्यक रुपमा धेरै सर्वसाधारण उपभोक्ताको हसिया, बन्चरो र साइकल खोसिएका छन, ककडीका राधाकृष्ण चौधरीले भन्नुभयो, त्यतिबेला दिएको दुख सम्झेर पनि जनताले अहिले उनलाई भोट हाल्दैनन ।’ समितिको अध्यक्ष हुँदा समितिको घाटगद्दी स्थलनमा राखिएको ठूलो परिमाणको काठ हराएको र उपभोक्ताको नाममा छुट्याइएको काठ व्यापारी र तस्करसंग मिलेर बिक्री गरेको आरोप पनि उनीमाथि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय