निजगढ। घुरको आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएकी निजगढ नगरपालिका वडा नम्बर ७ लिची टोल बस्ने वर्ष ७५ की रामकुमारी देवी साहको उपचारको क्रममा आज साँझ काठमाण्डौंमा निधन भएको छ ।
आफ्नै घरको आगनमा घुर बालेर आगो ताप्ने क्रममा गत पुष १९ गते बिहान जलेर साह घाइते हुनुभएको थियो । घुरको आगो साडीबाट सल्केर शरीर जलेपछि गम्भीर घाइते बन्नुभएकी साहलाई वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको र थप उपचारको लागि काठमाण्डौंको शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा साँझ ५ः४५ बजे निधन भएको साहको कान्छा छोरा दिनबन्धु साहले बताउनुभयो ।
साहका ३ छोरा, ३ छोरी र श्रीमान् छन । साहको जेठा छोरा दिनानाथ साह निजगढ १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालका प्रधानाध्यापक हुनुहुन्छ भने अन्य छोराहरुको निजगढमा व्यवसाय संचालनमा छ । कान्छा छोरा दिनबन्धु सामुदायिक रेडियो निजगढमा पनि आवद्ध हुनुहुन्छ ।
साहको पूर्खौली घर बाराको पचरौता नगरपालिकामा शनिवार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।



