साहित्य कला संस्कृति समाज निजगढले बिहीबार कवि एलिसा ढुंगानाको कवितासंग्रह सौन्दर्यको भग्नावशेष माथि केन्द्रित साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरेको छ। समाजका अध्यक्ष सुको साइबरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बूले एलिसाको कृतिको गहिरो साहित्यिक मूल्यांकन प्रस्तुत गरे।
लुमुम्बूले एलिसाको कवितामा देखिने नारी संवेदना, प्रेम प्रणय र समाज परिवर्तनको आकांक्षा कलात्मक ढङ्गले प्रस्तुत भएको उल्लेख गर्दै भने,‘उनका कविता सरल, प्रभावकारी र समसामयिक परिवेशसँग गहिरो रूपमा प्रतिध्वनित हुन्छन।’
सभाध्यक्ष साइबरले कृतिमा प्रस्तुत भएका विद्रोही चेतना, रूपान्तरणको चाहना र नारी अनुभवलाई नेपाली कवितामा उल्लेखनीय योगदानको रूपमा व्याख्या गरे।
विमर्शका क्रममा कवि तथा नेपाली लेखक संघ बारा शाखाका अध्यक्ष सुशान्त न्यौपानेले संग्रहबाट एक कविता वाचन गर्दै आफ्नै सिर्जनासमेत प्रस्तुत गरे। कवि प्रकाश सुवेदी ‘बलु’ले पनि कृतिमा समेटिएका अनुभूति, भावना र काव्यभूगोलबारे टिप्पणी गर्दै संग्रहबाटै कविता वाचन गरे।
कार्यक्रममा बोल्दै कवि एलिसाले आफ्नो लेखन यात्रा, प्रेरणा र काव्यभावना साझा गर्दै, निजगढमै यस्तो अर्थपूर्ण साहित्यिक कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरिन।
स्थानीय साहित्यकार तथा सिर्जनाकर्मीहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले सौन्दर्यको भग्नावशेषले समकालीन नेपाली कवितामा उठाएका दृष्टि, प्रश्न र अनुभूतिमाथि जीवन्त बहस र संवाद स्थापित गरेको आयोजकले जनाएको छ।



