निजगढ, निजगढ नगरपालिकाले खानेपानीको न्यूनतम महसुलमा उपलब्ध गराउँदै आएको सहुलियत नलिने स्वघोषणा गर्न उपभोक्ताहरूसंग आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले आज एक सूचनामार्फत पालिकाले उपलब्ध गराउदै आएको सहुलियत नलिने स्वघोषणा गर्ने अभियानमा सहयोग गर्न उपभोक्ताहरुसंग आग्रह गर्नुभएको हो ।
‘यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक रूपले सवल उपभोक्ताले खानेपानी न्यूनतम महसुल सम्बन्धि सुविधा नलिने गरी स्वघोषणा गराउने अभियानलाई अगाडि बढाउने भन्ने व्यवस्था गरेको हुँदा आर्थिक रूपले सबल उपभोक्ताले आआफ्नो वडा कार्यालयमार्फत उक्त सुविधा नलिने स्वघोषणा गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।
नगरपालिकाले उक्त अभियानबाट भविष्यमा निजगढ नगरपालिकाको आर्थिक सवलीकरणमा मद्दत पुग्ने देखिएकोले सहुलियत नलिने स्वघोषणा गर्न आग्रह गरेको हो ।
निजगढ नगरपालिकाले नगरपालिकाभित्रका उपभोक्ता समितिहरुमार्फत उपभोक्ताहरुको लागि न्यूनतम १० हजार लिटर पानीमा १ सय रुपैया सहयोग दिदैआएको छ । यसबाट निजगढ नगरपालिकाले वार्षिक करिव १ करोड रुपैया व्यायभार बेहोर्दैआएको छ ।



