वन क्षेत्रमा हिसंक वन्यजन्तु हात्तीको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बाराले वनको चारकिल्ला तोकेर सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको जनाएको छ ।
कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजिव झाले आज एउटा सूचना निकालेर कार्तिक २५ गते मंगलवारदेखि २०८२ कार्तिक ३० गतेसम्मको लागि बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित सामुदायिक, साझेदारी वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको जानकारी गराउनुभएको हो ।
सूचनामा पर्सा राष्ट्रिय निकुञ्जसहित बारा जिल्लाको वन क्षेत्रको पूर्वमा बारा र रौतहट जिल्लाको सिमाना, पश्चिममा वीरगञ्ज– हेटौडा जाने त्रिभुवन राजपथको सडकखण्ड, उत्तरमा बारा र मकवानपुर जिल्लाको सिमाना, दक्षिणमा सिमरा बडहर्वा हुदै कोल्हबी– हिमालीबास जाने बाटोसम्मको क्षेत्रमा प्रवेश निषेध गरिएको जनाइएको छ ।
अति जरुरी कामको लागि भने वन कार्यालयको सहमतिमा वन प्रवेश गर्न सकिने कार्यालयले जनाएको छ ।
‘निषेधित वन क्षेत्रमा आवत जावत, चरिचरण, च्याउलगायत तरकारी र काठ÷दाउरा, खर, घाँसपात, सोत्तरलगायतका वन पैदावार लिन जान तथा भोज भतेर वा पिकनिक जान पुर्ण रुपमा निषेध गरिएको छ, सूचनामा भनिएको छ, अति नै जरुरी काममा भने डिभिजन वन कार्यलयको अनुमतिमा वन प्रवेश गर्न सकिने छ ।’
त्यसैगरी सूचनामा वन क्षेत्रभित्रका पुर्व–पश्चिम लोकमार्ग, सहायक मार्गमा पनि गाडी नरोक्न वा पार्किङ्ग नगर्न, नगराउन अनुरोध गरिएको छ ।
वन कार्यालयले हात्ती नियन्त्रणको प्रयास जारी रहेको जानकारी गराउदै सूचनाको उल्लघंन गर्नेमाथि कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ । साथै वन जंगलमा आवतजावत वा प्रवेश गर्दा कुनै किसिमको धनजनमा क्षति भएमा सोको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको पथलैया–निजगढ सडक खण्डको जंगलमा सोमवार बिहान हात्तीको आक्रमणबाट ट्रक चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएपछि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर कार्यालय वन प्रवेशमा रोक लगाएको हो ।
गत आइतवार रातिदेखि नै राजमार्ग निस्किएर यातायात अवरुद्ध पार्दै आएको हात्तीले राजमार्गको ११ किलो जंगलमा रोकिएको ट्रकमा आक्रमण गर्ने प्रयास गरेपछि ओर्लिएर भाग्ने क्रममा चालक चौधरीलाई हात्तीले लखेटेर सडकमै ज्यान लिएको थियो ।
अघिल्लो रात पनि सो हात्तीले १ दर्जनभन्दा बढी सवारी र ढुवानीका साधनमा आक्रमण गरेको थियो । हात्तीले भारतीय नम्बर प्लेटको डब्लुबि ७३ जी– ९५८७ नम्वरको माइक्रो बस र बा २ च ७९२८ नम्वरको पिकअप भ्यान राजमार्गको छेउमा पल्टाएको थियो ।
वन कार्यालयले सूचनामार्फत हात्तीको आक्रमणबाट ज्यान गुमाएका चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना पनि प्रकट गरेको छ ।



