निजगढ,

निजगढ नगरपालिकाको १६औं नगरसभा बिहीवार सम्पन्न भएको छ । सभाले नगर प्रमुख सुरथ पुरीले प्रस्तुत गर्नुभएको निजगढ नगरपालिकाको नीति तथा कार्यक्रम र उपप्रमुख सोममाया थिङ्गले पेस गरेको १ अर्व १ करोड, ३ लाख १४ हजार एक सय ५३ रुपैया बराबरको बजेट सर्वसम्मतिले पारित गरेको हो ।

उपप्रमुख थिङ्गले प्रस्ताव गरेको निजगढ नगरपालिकाको नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र निजगढ नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ पनि पारित गरेको छ ।

बजेटमा प्रतेक वडा कार्यालयहरुलाई १÷१ करोड र कार्यपालिका लक्षित कोषतर्फ थप १ करोड रुपैया विनियोजन गरिएको छ ।

नीति कार्यक्रममा निजगढमा बस पार्क, प्राकृतिक चिकित्सालय, निजगढको पर्यटन गुरुयोजना निर्माण, चिस्यान केन्द्र, स्थानीय उत्पादन संकलन, भण्डारण तथा बिक्री केन्द्र निर्माणलगायतका योजना समावेश छन ।
त्यसैगरी निजगढ ४ पुरानो टोलमा अस्थायी प्रहरी चौकी स्थापना, निजगढ सभागृह निर्माण, सिंगौल र रतनपुरीको हाटबजार व्यवस्थापन, सिँचाइ चेक ड्याम निर्माण लगायतका योजना पनि समावेश गरिएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विसन सापकोटा, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाले प्रस्तावमाथि समर्थन गर्नुभएको थियो ।

यसअघि २ पटकसम्म स्थगित भएको नगर सभामा प्रस्तुत हुने बजेट सिलिङ्गमा कार्यपालिका सदस्यहरुबीच सहमति भएपछि नगर सभा सम्पन्न भएको हो । नगर प्रमुख पुरीले गत असार ९ र १० गते आह्वान गरेको नगर सभामा बहुमत कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि सभा स्थगित हुदैआएको थियो ।

नगरसभामा नगरसभाका सदस्यहरु कुमार मोक्तान, मेघराज वाइवा, धनबहादुर थापा, रेणुकुमारी दर्जी, शम्भु थोकरले आफ्नो सुझावहरु पेस गरेका थिए ।

निजगढ नगरपालिकाका नगर प्रमुख पुरीको अध्यक्षतामा बसेको बैठकमा नगर सभा सदस्यहरु, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय