निजगढ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन भइरहेका विकास निर्माण योजनाहरूमा आयोजना स्थलमा अनिवार्य सूचना पाटी राख्न उपभोक्ता समितिहरूलाई निर्देशन दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर र वडास्तरीय योजनाहरू कार्यान्वयन गर्ने क्रममा “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६” को अनुसूची ५ बमोजिम सूचना पाटी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानमा यसको पालना नगरेको गुनासो आएको जनाएको छ।

निजगढ नगरपालिकाले उपभोक्ता समितिहरूलाई यस्तो लापरबाही नगर्न र तुरुन्त सूचना बोर्ड राख्न सूचित गरेको छ। साथै, निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गरी सम्झौताअनुसार फाइल पेश गर्न समेत आग्रह गरिएको छ।

योजना कार्यान्वयनमा स्थानीय सरकारसँगै मधेश प्रदेश सरकारबाट समेत विभिन्न योजना ल्याई निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ। प्रदेश सरकारको समन्वयमा आएको योजनामा समेत उपभोक्ता समितिले नियमानुसार सूचना पाटी राख्नुपर्ने र समयमै काम सम्पन्न गर्नु आवश्यक रहेको नगरपालिकाले स्पष्ट पारेको छ।

मधेश प्रदेश सरकारबाट समेत विभिन्न योजना ल्याई नगरपालिका र जनतालाई जानकारी नदिई उपभोक्ता समिति गठन गरी काम अघि बढाइएको अवस्थामा नगरपालिकाले सार्वजनिक पारदर्शिता र नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सूचना पाटी राख्नुपर्ने नियम लागू गरिएको स्पष्ट पारेको छ।

नगरपालिकाका सातौँ अधिकृत अजय कुमार उप्रेती र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले हस्ताक्षर गरेको सूचनाको बोधार्थ सबै वडा कार्यालय (१ देखि १३) र प्राविधिक शाखामा पठाइएको छ।

विकास निर्माण कार्यका क्रममा सूचना पाटी नदेखिएमा सर्वसाधारणले स्थानीय सरकारका प्रतिनिधिलाई जानकारी गराई निमार्ण कार्यलाई पारदर्शी र गुणस्तरीय रुपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय