निजगढ,
शुक्रवार आएको हुरीले बोट ढालेर निजगढका किसानहरुले लगाएको करोडौं मूल्य बराबारको केरा खेती नष्ट पारेको छ ।
हुरीले पाक्ने बेला भएको केराको बोट ढालेपछि निजगढ नगरपालिकाका किसानको ४ करोडभन्दा बढी रकम बराबरको केरा खेती नष्ट भएको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाकेर बेच्ने बेला भएको केरा हुरीले ढालेपछि किसानलाई ठूलो क्षति भएको हो । हुरीले नगरमा सबै वडामा किसानले गरेको केरा खेतीमा पु¥याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको छ ।
स्थानीय किसान मानबहादुर श्रेष्ठका अनुसार पाक्ने बेलाको कृेरा हरीले जरैबाट ढालेको छ । ‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ, किसान श्रेष्ठले भन्नुभयो, वडामा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।’ उहाँका अनुसार हुरीले सो वडामा चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको छ । चौलागाईको केराबालीमा सबैभन्दा बढी क्षति भएको हो ।
केरा पकेट क्षेत्र घोषणा भएपछि निजगढका सयौं किसानले केरा खेती गर्दैआएका छन । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रुपैयासम्ममा बिक्री हुदैआएको छ ।



