मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निजगढमा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी संचालनमा रहेका २ वटा निजी अस्पताल, ३ वटा डेन्टल क्लिनिक र ४ वटा औषधि पसल बन्द गर्न निर्देशन दिए ।

मधेस प्रदेशका विभिन्न जिल्लामा अस्पतालहरुको अनुगमन गर्दै आएका मुख्यमन्त्री सिंहले शुक्रबार दिउसो निजगढमा गरेको अनुगमनको क्रममा निजगढ ८ शहिद चोकको जीवनदान अस्पताल र निजगढ ९ बकैया टोलमा रहेको निजगढ सिटी हस्पिटललाई बन्द गर्न आदेश दिए ।

दुबै अस्पतालले इजाजत र अन्य आवश्यक प्रक्रिया नै पूरा नगरी संचालन गरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

त्यसैगरी मुख्यमन्त्रीले निजगढ ८ सहिद चोककै नारायणी दन्त सेवा केन्द्र, लायन्स चौकको निजगढ डेन्टल क्लिनिक, निजगढ ७ सहिद चोकको कान्ता डेन्टल मेडिकललाई पनि बन्द गर्न निर्देशन दिए ।

मुख्यमन्त्री सिंहको टोलीले निजगढ ९ को मुहम्दी मेडिसिन सेन्टर, शम्मा फर्मेसी औषधी पसल, मिश्रा मेडिकल र निजगढ ८ को सिद्धार्थ मेडिकल हललाई बिरामीको उपचार रोक्न आदेश दिए ।

औषधि पसलमा नियमविपरीत शैया (बेड) राखेर बिरामी भर्ना र उपचार गर्ने गरेको पाइएपछि मुख्यमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन ।

वीरगञ्जमा भएको एउटा कार्यक्रममा सरिक भएर जनकपुरधाम फर्किने क्रममा मुख्यमन्त्री सिंहले हिजो दिउसो ३ बजे निजगढका अस्पताल, क्लिनिक र औषधि पसलको आकस्मिक निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय