
जिल्ला प्रहरी कार्यालय बाराले एकमहिने कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा अपराध अनुसन्धान तथा कारवाहीको क्रममा ५२ जना फरार प्रतिवादी पक्राउ परेको विवरणमा उल्लेख छ ।
फरार प्रतिवादीबाट कुल जरिवाना रकम १३ लाख ६ हजार ८ सय रुपैयाँ असुल गरिएको छ भने, उनीहरूलाई १२ वर्ष ७ महिना १४ दिन कैद सुनाइएको छ । यस्तै भन्सार तथा राजस्व संकलनतर्फ ३ करोड ५ लाख ४० हजार ६ सय ५९ रुपैयाँ संकलन गरिएको छ । सो अवधिमा ४३ वटा नयाँ मुद्दा दर्ता भएका छन्, जसमा १ कर्तव्य ज्यान, ७ सवारी ज्यान, १७ लागुऔषध, १ साइबर अपराध, र १७ अभद्र व्यवहारसम्बन्धी मुद्दा रहेका छन् ।
कारवाहीका क्रममा ८४ जना पक्राउ परेका छन्, जसमा ३ जना भारतीय पुरुष र ५ जना नेपाली महिला रहेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।
यस्तै लागुऔषध नियन्त्रण अन्तर्गत ३२०.३०९ केजी गाँजा, २९.४५१ केजी अफिम, र १७०.४ मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जनाइएको छ । लागुऔषध मुद्दामा २२ नेपाली पुरुष, २ नेपाली महिला र ४ भारतीय पुरुषसहित कुल २४ जना पक्राउ परेका छन् । साथै, स्रोत नखुलेको ३ लाख २ हजार ५ सय ६५ रुपैयाँ हुण्डी रकमसहित १ भारतीय पुरुषलाई पक्राउ गरेको पण्डितले बताउनुभएको छ ।