नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज हुने तयारीमा छिन् । चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत छिन् ।
‘अहिले गरेका सबै टेस्टका रिपोर्ट राम्रो आएको छ । एउटा अन्तिम रिपोर्ट भने आउन बाँकी छ,’ अस्पतालका निर्देशक सागरराज भण्डारीले भने,‘ उक्त रिपोर्ट आएपछि सम्भवतः आजै उनलाई डिस्चार्ज गरिन्छ ।’
ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । उनी यूएईबाट चैत ६ गते नेपाल आएका थिए ।
शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भइसकेका छन् ।