
एउटा ठट्यौली छ, प्रेमको ।
प्रेमी र प्रेमिका डेटिङमा रमइरहेका थिए । प्रेमीले आफ्ना प्रेमिकासँग सोधे, ‘यो संसारमा तिमीलाई सबैभन्दा बढी माया कसको लाग्छ ?’
प्रेमिकाले प्रेमीको छातीमा टाउको राख्दै मीठो लयमा भनिन्, ‘यो संसारमा मलाई त तपाईंकै माया लाग्छ ।’
प्रेमी मख्ख परे । प्रेमिकाले त्यही प्रश्न दोहो¥याइन्, ‘अनि तपाईंलाई नि ? यो संसारमा तपाईंलाई कसको सबैभन्दा बढी माया लाग्छ ।’
प्रेमीले मायालु पारामा जवाफ फर्काए, ‘मलाई पनि यो संसारम सबैभन्दा बढी माया मेरो नै लाग्छ ।’
वास्तवमा हामीले माया गर्नुपर्ने त आफैलाई पनि हो नि । तर, जब–जब माया गर्ने कुरा आउँछ, हामी आफुलाई भने भुल्छौं । ‘मलाई सबैभन्दा बढी माया मेरो’ लाग्छ कहिल्यै भन्दैनौं । के हामीले आफुलाई हेला गरिरहेका छौं ? के हामीले आफैलाई उपेक्षा गरिरहेका छौं ?
खासम भन्ने हो भने हामीले आफैलाई हेला नै गरिरहेका हुन्छौं ।
नपत्याए सोचौं त, के हामीले आफैलाई कहिल्यै आफ्नो लागि भनेर समय निकालेका छौं ? संसार भुलेर हामी आफैभित्र हराएका एवं रमाएका छौं ? आफ्नो अस्तित्वलाई अनुभूत गरेका छौं ?
म को हुँ ? मेरो इच्छा र रुची के हुन् ? के कुराले मलाई खुसी बनाउँछ ? के कुरामा म उमंगित हुन्छु ? भनेर हामी घोत्लिएका छौं ?
आफ्नै शरीर, स्वास्थ्यका लागि हामीले कति समय निकालेका छौं । २४ घण्टामा ३० मिनेट पनि आफ्नै शरीरलाई दिनका लागि हामी कञ्जुस गर्छौं । हामीलाई एकदम हतार हुन्छ । साथीभाईसँग जमघटमा घण्टौं बितेको पत्तो हुन्न, साथीसंगीसँग गफ गर्दा समय बितेको ख्याल हुन्न । तर, एकक्षण आफ्नै लागि समय निकाल्नु परेमा हामीसँग समय मिल्दैन । फुर्सद हुँदैन ।
हामी हेला गर्छौं, आफैलाई । आफ्नो रुची र शौखलाई । आफ्नो शरीरलाई ।
त्यसो नहुँदो हो त, दिनमा कम्तीमा एउटा निश्चित समय नितान्त आफ्नो लागि खर्चने थियौं होला । जस्तोसुकै काम–व्यवहार भएपनि साथसाथै आफ्नो रुची एवं शौखलाई निरन्तरता दिने थियौं होला । तर, हामीले आफुलाई बेवास्ता गरिरह्यौं ।
वास्तवमा हामी जतिबेला सानो थियौं, त्यसबेला हामीले आफुलाई माया गथ्र्यौं । हामी आफ्नै लागि खुसी खोज्थ्यौं । आफैभित्र रमाउन चाहन्थ्यौं । तर, हुर्कदै जाँदा हामी अरुको निम्ति बाँच्न थाल्यौं । आफुलाई गुमाउँदै गयौं । अरुले के खोज्छ, के देख्न चाहन्छ, के मन पराउँछ ? हामी त्यही अनुरुप आफुलाई ढाल्दै गयौं । र, आफुलाई त्याग्दै गयौं ।
आज संसारमा मान्छेहरु रोग र शोकले ग्रस्त हुनुको पछाडि पनि आाफैलाई हेला गरेर हो ।
हामीले आफैलाई माया गरेको भए, आफैलाई स्यहार–सुसार गरेको भए, आफ्नै शरीरको भाषा सुनेको भए, आफ्नै हृदयको आवाज महसुष गरेको भए आज हामी यति वेचैनी, औडाह, छटपटीमा फस्ने थिएनौ होला ।
त्यसैले त हामीले नितान्त आफ्नो लागि पनि समय दिनुपर्छ । आफुले आफैलाई प्रेम गर्नुपर्छ ।
बिहान उठ्नसाथ एक क्षण आँखा चिम्लेर आफ्नो शरीर र मनलाई अनुभूत गरौं । आफ्नो हृदयको ढुकढुकी सुनौं । म के चाहन्छु ? आफैलाई प्रश्न गरौं । आफुले गरिरहेको काम, आफ्नो सोंच चिन्तनबाट आफैलाई कति सन्तोष मिलेको छ ? सोचौं ।
बिहानको समय आफ्नो लागि निकालौं । ध्यान गरौं, योग गरौं । आफुलाई जे कुराले खुसी दिन्छ, त्यही गरौं । संगीत सुनौं । पुस्तक पढौं । तर, यी सबै काम अस्वस्थ हुनुहुन्न ।
कसैको गाउने सौख हुन्छ, कसैको नाच्ने । कसैको लेख्ने त, कसैको चित्र कोर्ने । जतिसुकै काम–व्यस्तताले लखेटेपनि आफ्नो सौखलाई नछाडौं ।
आफुलाई हेला नगरौं ।