निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा वन्यजन्तुको आवागमनका लागि दुई वटा ‘एनिमल अन्डर पास’ निर्माण हुने भएको छ । सडकले वन्यजन्तुको आवागमनमा बाधा नपार्न नेपाली सेनाले कोरियाली परामर्शदाता मार्फत स्थलगत अध्ययन गराएको हो ।

‘एनिमल पास’ को डिजाइन सम्बन्धमा दक्षिण कोरियाली परामर्शदाता कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसनले स्थलगत अध्ययन पूरा गरेर प्रतिवेदन दिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कन्सल्ट्यान्टले स्थलगत अध्ययन पूरा गरेपछि अन्डर पास निर्माण प्रकृया अगाडि बढाइएको बताए । द्रुतमार्गको मुनिबाट वन्यजन्तु आवागमनका लागि पास निर्माण हुने उनले बताए ।

ललितपुरको खोकनादेखि बाराको निजगढ जोड्ने साढे ७२ किलोमिटर लम्बाइको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । छोटा तीन वटा सुरुङमार्ग र ८७ वटा पुल रहने डिजाइनमा निर्माणाधीन सडकले वन्यजन्तुलाई बाधा नपार्न सेनाले कोरियन कम्पनीलाई परामर्शदाता ल्याएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार द्रुतमार्ग निर्माण हुने क्षेत्रमा जंगली जनावर मध्ये विशेषगरी हात्तीको सहज आवागमनका लागि अन्डर पास आवश्यक छ ।

द्रुतमार्ग अन्तर्गत निजगढ देखि चुरे पहाडको फेदीसम्म ३ देखि ४ वटासम्म अन्डर वा ओभर पास आवश्यक रहेको साहले बताए । एनिमल पास हात्तीले मात्र नभई बाघ, भालु, चित्तल समेतले प्रयोग गर्ने गरेको साहले बताए ।

नेपालका राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षहरूमा गरी २ सय २५ वटा जंगली हात्ती छन् । जसमध्ये सबैभन्दा बढी बर्दिया कम्प्लेक्समा १ सय १०, चितवन–पर्सा कम्प्लेक्समा ४५ देखि ५०, सिन्धुलीमा ८, कोसीमा १३ देखि १४, झापामा १९ देखि २० र शुक्लाफाँटामा २० देखि २५ वटा हात्ती रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय