निजगढ नगर उद्योग वाणिज्य संघले नगरपालिका क्षेत्रमा केही दिनयता अघोषित रुपमा गरिएको लोडसेडिङ्गको अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले निजगढमा केही दिनयता हुदै आएको अघोषित लोडसेडिङ्गविरुद्ध विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढमा ज्ञापन पत्र बुझाउदै लोडसेडिङ्गको अन्त्य नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।
अध्यक्ष नेपालको नेतृत्वमा गएको संघको टोलीले उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष नेपाल, ज्ञानेन्द्र चौलागाई, दिपेन्द्र श्रेष्ठ, प्रभात सिग्देल सहितको टोली कार्यालयमा पुगेको थियो ।
संघका अध्यक्ष नेपालव्दारा हस्ताक्षरित ज्ञापन पत्रमा केही दिनयता बढदै गएको अघोषित लोडसेडिङ्गप्रति ध्यानाकर्षण भएको र यसबाट निजगढ क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारणसमेत अतिप्रभावित बनेको बताइएको छ ।
त्यसैगरी संघले जथाभाबी बिजुली काटिदा विद्यार्थी, बिरामी र किसानसमेत मार्कामा परेको र यसको कारण पत्ता लगाएर न्युनीकरणकोलागि तत्काल पहल गर्नुपर्ने अन्यथा अघोषित लोडसेसडिङ्ग अन्त्यको लागि प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रिन संघ बाध्य हुने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।